एन्फा महिला लिगको खेल तालिका सार्वजनिक

फाल्गुन २८, २०८२ |खेल ब्युरो
एन्फा महिला लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरिएको तालिका अनुसार चैत ४ गते लिगको उद्घाटन खेलमा न्यु रोड टिम एनआरटी र संकटा एफसी प्रतिस्पर्धा गर्ने छन् । उद्दघाटन खेल बिहान ११ बजेबाट सुरु हुने छ । सोही दिन दिउँसो ३ बजे झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लब पनि आमनेसामने हुने छन् ।

कुल १० टोलीको सहभागिता रहने प्रतियोगिताका सबै खेल ललितपुरस्थित च्यासल रंगशालामा हुने छन् । गत वर्ष दोस्रो चरण पुगेका ५ टोलीमध्ये ४ टोली र छनोट प्रतियोगिताबाट आएका ६ टोलीले यस पटक लिगमा सहभागिता जनाउन लागेका हुन् ।

डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, आर्मी, बागमती युवा क्लब र वालिङ नगरपालिका गत सिजन दोस्रो चरणमा पुगेका थिए । तर आर्थिक कारण देखाउँदै वालिङले यसपटक प्रतियोगिताबाट नाम फिर्ता लिएको बताइएको छ। वालिङको ठाउँमा राप्ती एफसीले अवसर पाएको छ । यसबाहेक छनोट प्रतियोगिताबाट संकटा, एनआरटी, चर्च ब्वाइज युनाइटेड,झापा र आर-एस पोखराले लिगका लागि स्थान बनाएका थिए । 

सिंगल राउन्ड रोविनका आधारमा आयोजना हुने प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।