सीप सिकेर गाउँमै स्वरोजगार : रामेछापका युवाहरू वर्कसपबाट भविष्य खोज्दै

फाल्गुन २९, २०८२ |नवराज श्रेष्ठ
सीप सिकेर गाउँमै स्वरोजगार : रामेछापका युवाहरू वर्कसपबाट भविष्य खोज्दै

रामेछाप । रोजगारीको खोजीमा सहर र विदेश जाने युवाको संख्या बढ्दै जाँदा गाउँघर भने विस्तारै खाली हुँदै गएका छन् । 

तर, रामेछापका केही युवाले भने सीप सिकेर गाउँमै स्वरोजगारको बाटो रोजेका छन् । मोटरसाइकल मर्मत गर्ने सीप सिकेर उनीहरू आफ्नै गाउँमा वर्कसप सञ्चालन गर्दै आम्दानी मात्रै गरिरहेका छैनन्, गाउँमै बसेर भविष्य खोजिरहेका छन्।

रामेछापको खाँडादेवी गाउँपालिका-४ माडिमुहानका युवा कृष्णबहादुर मानन्धर अहिले गाउँमै मोटरसाइकल मर्मत गरेर जीविकोपार्जन गरिरहनुभएको छ। केही वर्षअघिसम्म भने उहाँको अवस्था फरक थियो। कहिले इँटा भट्टामा मजदुरी, कहिले होटलमा काम, कहिले गाउँमै बेरोजगार-यस्तै संघर्षपूर्ण जीवन बिताइरहेका कृष्णको जीवनमा सीपमूलक तालिमपछि परिवर्तन आयो । 

उहाँले सामुदायिक विकास समाजमार्फत ७२ दिने मोटरसाइकल मर्मत तालिम लिनुभयो । तालिमपछि संस्थाले वर्कसप सञ्चालनका लागि आवश्यक उपकरण सहयोग गरेपछि उहाँले गाउँमै मोटरसाइकल मर्मत व्यवसाय सुरू गर्नुभयो । अहिले गाउँमा मोटरसाइकलको प्रयोग बढेसँगै उहाँको काम पनि बढ्दै गएको छ।

सुनापति गाउँपालिका-५ भिरकोटका युवा लाप्साङ तामाङले पनि गाउँमै सीपमा आधारित व्यवसाय गरिरहनुभएको छ । घर बनाउने मजदुरी गर्दै आएका लाप्साङले पनि मोटरसाइकल मर्मत तालिम लिएपछि गाउँमै वर्कसप सञ्चालन गरिरहनुभएको छ । यही कामबाट आम्दानी बढ्न थालेपछि वर्कसपमा उहाँले एक जनालाई रोजगारी पनि दिनुभएको छ । विदेश जाने तयारी गरिरहेका लाप्साङ सीप सिकेपछि गाउँमै बसेर काम गर्ने निर्णयमा पुग्नुभएको छ । 

सुनापति गाउँपालिका नजिकै रहेको उहाँको वर्कसपमा कामको व्यस्तता देखिन्छ । खाँडादेवी गाउँपालिका-७ थान्सीङका दिलिप मगरको पनि सीपले गाउँमै जीवनमा परिवर्तन ल्याएको छ । केही वर्षअघिसम्म कृषि र ज्याला मजदुरीबाट जेनतेन परिवार चलाइरहेका दिलिपले पनि मोटरसाइकल मर्मत तालिम लिएपछि आफ्नै गाउँ गाल्पा बजार नजिकै वर्कसप सञ्चालन गर्नुभएको छ । 

अहिले यही व्यवसायबाट उहाँको परिवार चलेको छ । उहाँले पनि सामुदायिक विकास समाजमार्फत मोटरसाइकल मर्मत तालिम लिएपछि मोटरसाइकल वर्कसप सञ्चालन गर्नुभएको हो । रामेछापमा सामुदायिक विकास समाजमार्फत ७२ दिने मोटरसाइकल मर्मत तालिमपश्चात् आधा दर्जनभन्दा बढी युवा गाउँमै स्वरोजगार बनेका छन् । 

यसबाहेक कृषि, ब्युटीपार्लर, सिलाइ कटाइलगायतका साना व्यवसाय गर्ने युवा पनि गाउँमा भेटिन्छन् । सीप, श्रम र अवसर भए गाउँमै पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका यी युवा वैदेशिक रोजगारीको विकल्प स्थानीय साना उद्यम बन्न सक्ने सम्भावना देखाइरहेका छन् । तर, उनीहरूलाई यस्ता व्यवसायमा गाउँमै टिकाइराख्ने विषय भने चुनौतीपूर्ण देखिन्छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।