
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले फिफा विश्वकप-२०२६ मा सहभागी नहुने इरानको निर्णयलाई साथ दिएका छन् ।
ट्रम्पले इरान राष्ट्रिय फुटबल टिमलाई प्रतियोगितामा स्वागत रहेको तर आफ्नो सुरक्षालाई ध्यानमा राख्दै भाग लिन नहुने सुझाव दिए । इरानको युवा तथा तथा खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देश विश्वकप खेल्ने स्थितिमा नरहेको बताएको भोलिपल्ट अमेरिकी राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो ।
आगामी जुन जुलाइमा हुने विश्वकपको, अमेरिका सहआयोजक राष्ट्र हो । मेक्सिको र क्यानडाले पनि विश्वकप होस्ट गर्दैछन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा इरानलाई फिफा विश्वकपमा स्वागत गर्दै लेखेका छन् - मलाई लाग्दैन कि इरानले आफ्नो जीवनको सुरक्षालाई ध्यानमा राखेर प्रतियोगितामा सहभागी हुनुपर्छ । इरानको राष्ट्रिय टिमको आधिकारिक इन्टग्राम अकाउन्टले तत्कालै ट्रम्पको टिप्पणीमा प्रतिक्रिया जनाएको छ ।
उसले अमेरिकी राष्ट्रपतिलाई टिमको सहभागीताको विषयमा टिप्पणी गर्ने अधिकार नभएको जिकिर गरेको छ । विश्वकप ऐतिहासिक र अन्तराष्ट्रिय इभेन्ट भएको र फुटबलको सर्वोच्च निकाय अमेरिका नभएर फिफा भएको इरानको भनाइ छ । सो अकाउन्टले अमेरिकाले इरानको टीमलाई उचित सुरक्षा दिन असक्षम भएकोमा पनि राष्ट्रपति ट्रम्पको आलोचना गरेको छ ।
इरान विश्वकपमा न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट रहेको समूहमा छ । समूह चरणका सबै खेल अमेरिकाको लस एन्जलस, सियाटल र वासिङटनमा खेल्ने तालिका छ । यसअघि ट्रम्पको नजिक रहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानलाई विश्वकपमा अमेरिकाले स्वागत गर्ने बताएका थिए । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले विश्वकप नखेल्ने जनाएको हो ।