'ट्याक्टिकल नोम्याड' एरेना राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त

फाल्गुन २८, २०८२ |खेल ब्युरो
 'ट्याक्टिकल नोम्याड' एरेना राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जाल मार्फत स्विस नागरिक एरेनालाई राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । एरेनाले एन्फाका महासचिब किरण राईबाट नियुक्ति पत्र ग्रहण गरे ।

गत कात्तिकमा म्याट रसले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो । त्यसपछि एन्फका टेक्निकल डाइरक्टर तथा पूर्व खेलाडी हरि खड्काले राष्ट्रिय टोली सम्हालेका थिए ।

एएफसी प्रोलाइसेन्स प्राप्त एरेनालाई 'ट्याक्टिकल नोम्याड' अर्थात् आवश्यकता अनुसार फरक फरक रणनीति अपनाउन सक्ने प्रशिक्षकका रूपमा चिनिन्छ । उनीसँग चार महादेशका विभिन्न राष्ट्र र फुटबल क्लबको जिम्मेवारी सम्हालेको अनुभव छ ।

एरेना केही साता अघिनै नेपाल आएपनि एनफाले आजमात्र उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।