अस्ट्रेलियन ओपनको फाइनलमा आज जोकोभिच र अल्काराज भिड्दै

उपाधि जितेर नयाँ इतिहास बनाउने होडमा दुवै खेलाडी
माघ १८, २०८२ |खेल ब्युरो
अस्ट्रेलियन ओपनको फाइनलमा आज जोकोभिच र अल्काराज भिड्दै
Photo Source : Agency

काठमाडौं । अस्ट्रेलियन ओपन पुरूषतर्फको फाइनलमा आइतबार सर्वियाका नोभाक जोकोभिच र स्पेनिस कार्लोस अल्काराजबीच प्रतिस्पर्धा हुँदैछ । 

३८ वर्षका जोकोभिच र २२ वर्षिय अल्काराज जस्ले उपाधि जिते पनि नयाँ इतिहास बन्नेछ ।जोकोभिच सर्वाधिक १० पटकका अस्ट्रेलियन ओपन च्याम्पियन हुन् । अल्काराजले समग्रमा ६ ग्रान्डस्लाम उपाधि जितेका छन् । तर मेलवर्नमा उनी सफल हुन सकेका छैनन् । 

यदि आइतबार जोकोभिचलाई पराजित गरे अल्काराज चारवटै ग्रान्डस्लाम जित्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन् । यस्तै जोकोभिच किर्तिमानी २५औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । सन २०२३, सेप्टेम्बर यता उनी २४औं ग्रान्डस्लाममानै रोकिइरहेका छन् । 

४० वर्ष पुग्न लागेका जोकोभिचका लागि २५औं ग्रान्डस्लाम जित्ने यो सुनौलो अवसर हो । यो फाइनल जिते उनी सबैभन्दा बढी उमेरमा अस्ट्रेलियन ओपन जित्ने खेलाडी बन्नेछन् । अल्काराजले सेमीफाइनलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई पाँच सेटमा हराएरका थिए । 

यी दुई बीचको खेल पाँच घन्टा २७ मिनेटसम्म चलेको थियो । जुन यो प्रतियोगिताको अहिले सम्मकै लामो हो । यस्तै जोकोभिचले इटालिका दुई पटकका साविक विजेता यानिक सिनरलाई पाँच सेटमै हराए । यो खेल पनि चार घन्टा नौ मिनेटमा टुंगियो । जोकोभिच हेड टु हेडमा अल्काराजसँग पाँच चारले अघि छन् । 

गत वर्षको यूएस ओपन क्वार्टरफाइनलमा भने अल्काराज विजयी भएका थिए । फाइनल खेल दिउँसो सवा २ बजे सुरू हुनेछ ।