
काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपाली यू-२० महिला टोलीले चाइना युनान युथ वुभन टिमविरूद्ध सानदार जित हात पारेको छ ।
दशरथ रंगाशालामा शनिबार भएको खेलमा नेपाली युवा टोलीले चाइना युनानविरूद्ध ३-१ गोल अन्तरको जित हात पारेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा भने तीव्र आक्रमण गर्यो । पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले पहिलो हाफमा गोल गर्न सकेन ।
खेलको ४१औं मिनेटमा सि जाओतिङले चिनियाँ टोलीका लागि गोल गरिन् । याङ सुईको उत्कृष्ट असिस्टमा सिले गोल गरेकी हुन् । पहिलो हाफमा १-० ले पछि परेको यमप्रसाद गुरूङको टोलीले दोस्रो हाफमा निकै सुधारिएको प्रर्दशन गर्यो । खेलको ८४औं मिनेटमा सुक्रिया मियाँको लङ रेन्जर गोलमार्फत नेपालले बराबरी गर्यो ।
त्यसलगत्तै, ८७औं मिनेटमा कप्तान बिर्सना चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । दोस्रो हाफमा कमब्याक गरेको नेपालले इन्जुरी समयमा थप एक गोल गर्यो । ९५औं मिनेटमा सजनी स्याङतानले गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित हरेक वर्ष नेपाल र चीनबीच मैत्रीपूर्ण खेलहरू आयोजना हुँदै आएका छ ।