
काठमाडौं । करण केसी, नेपाली क्रिकेटमा संकटमोचकका रूपमा परिचित छन् ।
नेपाललाई एकदिवसीय मान्यता दिलाउँदा होस् वा जोगाउँदा, करणको भूमिका निर्णायक रह्याे । सन् २०१८ को भ्यालेन्टाइन डेमा क्यानडाविरुद्ध करणले अविश्वसनिय इनिङ्स खेलेपछि नेपालका लागि एकदिवसिय मान्यताको ढोका खुलेको थियो । त्यसै कारण फेब्रुअरी १४ लाई विश्वभर प्रेम दिवसको रुपमा मनाइए पनि नेपाली क्रिकेट समर्थकले 'करण केसी डे' का रुपमा मनाउँछन् ।
मसल म्यान र ओडीआई म्यानका रूपमा समेत परिचित करण नेपाली क्रिकेटले पाएको असाधारण प्रतिभा हुन् । कान्तिपुर समाचारको नो योर राइनोमा आज हामी करण केसीको क्रिकेट करियरको चर्चा गर्ने छौं ।
सन् १९९१ अक्टोबर १० मा बाग्लुङको सिगानामा जन्मिएका करण केसी बाल्यकालदेखि नै क्रिकेटप्रति गहिरो लगाव राख्थे । उनका बाबु-आमा भारतमा बस्ने भएकाले उनी त्यतै हुर्किए । सानै उमेरमा क्रिकेट खेल्न सुरू गरे पनि उनले व्यावसायिक क्रिकेटर नै बन्छु भनेर सोचेका थिएनन् । उनी अन्य युवा जस्तै विदेश जाने योजनामा थिए ।
सन् २०१४ मा उनी वैदेशिक रोजगारीका लागि रहादारी र अन्य कागजात तयार पार्न नेपाल आए । तर त्यति खेर पोखरामा क्षेत्रीय छनोट भइरहेको थियो । करणले प्राथमिकता बिनै छनोटमा सहभागिता जनाए । त्यहाँ उनले प्रभावशाली प्रदर्शन गरेपछि धनगढीमा सोही वर्ष सम्पन्न ५० ओभरको नेपाल प्रिमियर लिगमा पञ्चकन्याबाट खेल्ने अवसर पाए ।
प्रतियोगिताको सात खेलमा १० विकेट लिँदै सनसनी मच्चाएपछि तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दसानायकेको नजर उनी माथि पर्यो । पहिलो घरेलु प्रतियोगिता खेलेको आठ महिनाभित्रै राष्ट्रिय टिममा पुगेर उनले बेंगलुरूमा प्रशिक्षण गर्ने अवसर पाए ।
२०१५ जनवरीमा उनले नामिबियामा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-टुमा युगान्डाविरूद्ध लिस्ट-'ए' मा डेब्यु गरे । त्यही वर्ष जुनमा नेदरल्यान्ड्सविरूद्ध टी-२० अन्तर्राष्ट्रियमा पहिलो खेलमै विकेट लिए । फास्ट बलिङ र आक्रामक मानसिकता उनका मुख्य हतियार हुन् ।
उनी तल्लो क्रममा आक्रामक ब्याटिङ पनि गर्न सक्छन् । यही शैलीले उनलाई नेपाली क्रिकेटमा संकटको घडीमा टिमलाई विजयी बनाउने क्षमता प्रदान गरेको हो । उनको करियरको पहिलो ऐतिहासिक प्रदर्शन २०१८ को भ्यालेन्टाइन डेमा आयो । नामिबिया भएको विश्व क्रिकेट लिग डिभिजन-टु अन्तर्गत क्यानडाविरूद्धको खेलमा नेपाललाई १९५ रनको चुनौतीपूर्ण लक्ष्य थियो ।
टिमले १ सय ४४ रनमा नौ विकेट गुमाइसकेको थियो । एकदिवसीय मान्यता पाउन निकै महत्वपूर्ण मानिएको उक्त खेलमा नेपालको अवस्था देखेर क्याडाका खेलाडीले सेलिब्रेसन सुरू गरिसेका थिए । तर क्रिजमा करणको आगमन हुनै बाँकी थियो । करणले अन्तिम विकेटका रूपमा सन्दीप लामिछानेसँग ४७ बलमा ५१ रनको साझेदारी गर्दै नेपाललाई एक विकेटले रोमाञ्चक जित दिलाए । ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रनको इनिङ्स खेले ।
त्यसपछि विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको नेपालले प्लेअफ हुँदै १० मध्ये शीर्ष ८ टोलीमा अटाएर पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको थियो । क्यानडासागको सो खेल नजितेको भए नेपाली क्रिकेटको अवस्था नै भिन्नै हुन्यो । सोही कारण करणलाई भ्यालेन्टाइन ब्वाइको उपनाम दिइयो ।
२०१८ अगस्टमा नेपालले नेदरल्यान्ड्सविरूद्ध ऐतिहासक ओडीआई खेल्दा उनले एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । २०१८ देखि २०२३ बीच चलेको लिग-२ चक्रमासमेत करणले सानदार प्रदर्शन गर्दै नेपालको एकदिवसीय मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएपछि क्यानका सचिव पारस खड्काले करणलाई ओडीआई म्यानको अपमा दिए ।
नेपालका लागि ६५ ओडीआईमा ९१ विकेट लिएका करणको नाममा ६ सय २९ रन छ । उनी यस प्रारूपमा नेपालका लागि सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । टी-२० आईको ८५ खेलमा १ सय ६ विकेट लिएका छन् । टी-२० आईमा पनि उनी नेपालका दोस्रो हायस्ट विकेट टेकर हुन् । साथै सन्दीप लामिछानेपछि टी-२० आईमा १ सय विकेट पूरा गर्ने उनी दोस्रो बलर हुन् ।
घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्ने करण नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजको कप्तान हुन् । निरन्तर अभ्यास, कडा परिश्रम र आत्म-संयमले उनी नेपाली क्रिकेटमा स्थापित भएका हुन् । संकट र चुनौतीलाई धैर्य, परिश्रम र आत्मविश्वासले परास्त गर्नु उनको विशेषता हो । दोस्रो पटक नेपालका लागि टी-२० विश्वकप खेलिरहेका करणबाट समर्थकले पुनः एकपटक जादुमय प्रदर्शनको अपेक्षा गरेका छन् ।