
काठमाडौं । आयोजक नेपालले साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलको हारसहित सुरूआत गरेको छ ।
नेपाल भारतविरूद्ध १-० गोलले पराजित भएको छ भने बंगलादेशले भने भुटानसँग १२-० को एकपक्षीय जित हात पारेको छ । पोखारा रंगशालामा पियर्ल फर्नान्डेजले दोस्रो हाफमा गरेको गोल नै भारतको जितमा निर्णायक बन्यो । घरेलु मैदानमा पहिलो हाफमा समालिएर खेलेको नेपाल दोस्रो हाफमा भने लय गुमायो ।
खेलको ४८औं मिनेटमा भारतका लागि पियर्ल फर्नान्डेजले गोल गरिन् । प्रितिका ब्रमानले डिबक्सभित्र राइट साइडबाट दिएको पासलाई फर्नान्डेजले गोलमा परिणत गरेकी हुन् । उनको एक गोल नै भारतलाई जितका लागि पर्याप्त रह्यो । जितसँगै भारतले ३ अंक जोडेको छ ।
आयोजक नेपाललाई भने अंकको खाता खोल्न थप प्रतिक्षा गर्नु पर्ने भएको छ । शनिबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा भुटानविरूद्ध १२-० को फराकिलो जित हात पार्ने क्रममा बंगलादेशका तीन खेलाडीले ह्याट्रिक पूरा गरे । मामोनी चक्माले २८ औं मिनेटमा पहिलो गोल गरिन् ।
पहिलो हाफमा २ र दोस्रो हाफमा थप दुई गोल गरेकी मोस्ट मुन्की अक्तर एक्लैले चार गोल गरिन् । सिमोती तिर्सना रानीले ४२औं, ५४औं र ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने अल्पी अक्तरले ७३औं, ८६औं र ९६औं मिनेटमा गोल गरिन् । खेलको अन्त्यतिर कप्तान अर्पिता विश्वासले गोल गरेपछि बंगलादेशले १२-० को जित हात पार्यो । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । भुटानले भने विशाल अन्तरले पराजयसहित प्रतियोगिताको सुरूआत गर्यो ।
अब सोमबार बंगलादेशले भारतको सामना गर्ने छ भने नेपालले भुटानसँग खेल्ने छ । माघ २४ गते सम्म चल्ने प्रतियोगितामा नेपाल सहित भारत, भुटान र बंगलादेश सहभागी छन् ।