राष्ट्रपति पौडेल आज राति जापान प्रस्थान गर्नुहुँदै

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेल आज राति जापान प्रस्थान गर्नुहुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । 

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापान भ्रमणमा जान लाग्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेल नेपाली टोलीको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानबाट आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । उहाँ माघ २१ गते दिउँसो साढे चार बजे स्वदेश फर्कने कार्यक्रम छ । भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनु हुनेछ । 

उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारु-हितोसँग राजकीय शिष्टाचार भेट गर्नुहुनेछ । सोही दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । राष्ट्रपति पौडेलका साथमा उहाँकी धर्मपत्नी सबिता पौडेल तथा उच्च सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.