
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापान भ्रमणमा जान लाग्नुभएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेल नेपाली टोलीको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानबाट आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । उहाँ माघ २१ गते दिउँसो साढे चार बजे स्वदेश फर्कने कार्यक्रम छ । भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनु हुनेछ ।
उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारु-हितोसँग राजकीय शिष्टाचार भेट गर्नुहुनेछ । सोही दिन राष्ट्रपति पौडेल र जापानकी प्रधानमन्त्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । राष्ट्रपति पौडेलका साथमा उहाँकी धर्मपत्नी सबिता पौडेल तथा उच्च सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन् ।