
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग चुनावी यात्राका क्रममा अछाम पुगेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
ग्रान्डी अस्पतालले आइतबार उनको मृत्यु भएको विज्ञप्तिमार्फत जानकारी दिएको हाे। गत शुक्रबार बिहान मंगलसेन नगरपालिका–४ बाँगापाटामा सिटौला अचानक अचेत भएका थिए। उनलाई तत्काल जिल्ला अस्पताल अछाम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित ग्रान्डी अस्पतालमा स्थानान्तरण गरिएको थियो।
शुक्रबार बिहान ९ बजे सदरमुकाम मंगलसेनको बीचबजारस्थित पार्टी कार्यालयमा बालेन शाह पुग्ने कार्यक्रम तय थियो। त्यसका लागि रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरू पार्टी कार्यालयमा भेला भइरहेका थिए। तर भ्रमण टोलीमा रहेका सिटौला अचेत भएको खबर आएपछि बालेन्द्रको टोली सोझै जिल्ला अस्पतालतर्फ लागेको थियो।
काठमाडौंको टोखा निवासी सिटौला बालेन्द्र शाहको भ्रमण टोली सदस्यका रूपमा अछाम पुगेका थिए।
