
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताउनुभएको छ ।
निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार कांग्रेसलगायतका पुराना राजनीतिक दलहरूले लडेर ल्याएको स्मरण गराउनु भयो ।
उहाँले लोकतन्त्रको रक्षा गर्न कांग्रेसलाई विश्वास गर्नुको विकल्प नभएको बताउनु भयो । नेपाली कांग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गर्नुभयो । नयाँ, बदलिएको र एजेन्डासहित आएको कांग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने उहाँकाे भनाइ छ ।
नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताउनु भयो । बदलिएको कांग्रेसले नै देश बदल्ने उहाँकाे दाबी छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अत्याधिक मत दिएर विजयी गराउने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो ।