टी-२० विश्वकप : बंगलादेश भारत नगए स्कटल्यान्ड विश्वकपमा

माघ ७, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप : बंगलादेश भारत नगए स्कटल्यान्ड विश्वकपमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌-आईसीसीले बंगलादेश क्रिकेट बोर्ड-बीसीबीलाई सन् २०२६ टी-२० विश्वकप खेल्न भारत जाने-नजानेबारे अन्तिम निर्णय लिन थप एक दिनको समय दिएको छ । 

यदि बंगलादेशले सुरक्षा कारण देखाउँदै भारत जान अस्वीकार गरेमा, टीम र्‍याङ्किङको आधारमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराइने निर्णय आईसीसी बोर्डले गरेको छ । बुधबार बसेको आईसीसी बोर्ड बैठकमा अधिकांश सदस्य राष्ट्रहरूले बंगलादेशको स्थानमा वैकल्पिक टोली राख्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन् । 

आइसीसीका १५ निर्देशक सहभागी बैठकमा पाकिस्तानबाहेक सबै सदस्य राष्ट्रहरूले आईसीसीको निर्णयलाई समर्थन गरेका थिए । पाकिस्तानले मात्र बीसीबीको अडानको पक्षमा मतदान गरेको जनाइएको छ । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार आईसीसी र अन्य बोर्डहरूलाई पत्र लेख्दै बंगलादेशको समर्थन गर्न अनुरोध गरेको थियो ।

बैठकमा आईसीसी अध्यक्ष जय शाहसहित सबै पूर्ण सदस्य राष्ट्रका प्रतिनिधि सहभागी थिए । साथै आईसीसीका शीर्ष पदाधिकारी र सुरक्षा इकाइका प्रमुख पनि बैठकमा उपस्थित थिए । सुरक्षा इकाईका पदाधिकारीले गत साता ढाकामा पुगेर बंगलादेश बोर्डसाग प्रत्यक्ष छलफल समेत गरेको थियो ।

बैठकपछि जारी विज्ञप्तिमा आईसीसीले स्वतन्त्र सुरक्षा मूल्यांकनसहित सबै प्रतिवेदनले भारतका कुनै पनि खेलस्थलमा बंगलादेशी टोली, अधिकारी, सञ्चारकर्मी वा समर्थकलाई कुनै सुरक्षा खतरा नरहेको निष्कर्ष निकालेको उल्लेख छ । आईसीसीले प्रतियोगिता नजिकिँदै गर्दा खेल तालिका वा स्थल परिवर्तन गर्नु व्यवहारिक नहुने उल्लेख गर्दै यसले भविष्यका प्रतियोगितामा गलत नजिर बस्न सक्ने चेतावनी पनि दिएको छ । 

बीसीबीले आईपीएल २०२६ मा मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सबाट रिलिज गरिनुलाई कारण देखाउँदै आफ्नो अडान परिवर्तन नगरेको आईसीसीको भनाइ छ । आईसीसीले उक्त विषय घरेलु लिगसँग सम्बन्धित व्यक्तिगत मामिला भएको र यसलाई विश्वकपको सुरक्षा व्यवस्थासँग जोड्नु उपयुक्त नहुने स्पष्ट पारेको छ ।

बंगलादेशले जनवरी ४ मा सरकारसाग समन्वय गर्दै भारत नजाने जानकारी आईसीसीलाई दिएको थियो । त्यसयता टोलीले भारतको सट्टा श्रीलंकामा खेल्नुपर्ने माग गर्दै आएको थियो । बीसीबीले समूह परिवर्तनको प्रस्ताव पनि राखेको थियो, तर आईसीसीले त्यसलाई अस्वीकार गरिसकेको छ ।

टी-२० विश्वकप २०२६ अन्तर्गत बंगलादेश समूह 'सी' मा रहेको छ । टोलीका खेलहरू फेब्रुअरी ७, ९ र १४ मा कोलकातामा तथा फेब्रुअरी १७ मा नेपालविरूद्ध मुम्बईमा खेलिने तालिका छ ।