
काठमाडौं । एक समय थियो, राष्ट्रिय स्तरका जुनसुकै फुटबल प्रतियोगिता भए पनि दर्शक खचाखच हुन्थे ।
हरेक क्लबको छुट्टै फ्यानवेस हुन्थ्यो र उनीहरू आफ्नो क्लबको समर्थन गर्न मैदानसम्मै पुग्थे । तर अहिले अवस्था फेरिएको छ । लगभग तीन वर्षपछि नेपालमा राष्ट्रिय स्तरको लिग फुटबल फर्किएको छ । तर दर्शकको उपस्थिति निकै न्यून । दर्शकको पातलो उपस्थितिले खेलाडीसमेत खल्लो महसुस गरिरहेका छन् । फुटबलमा किन आयो यस्तो स्थिति ? किन भएनन् दर्शक ?
काठमाडौंमा जारी राष्ट्रिय लिगअन्तर्गत एन्फा कम्प्लेक्समा सोमबार नवजागृति र लालीगुराँस क्लबीच खेल हुँदा सय जना दर्शक पनि भएनन् । जबकी एन्फा स्टेडियमको क्षमता ४ हजारको हो । दर्शकको उपस्थिति निकै पातलो हुँदा खेलाडीले समेत खल्लो महसुस गरे ।
सोमबारमात्र होइन, पुस ३० मा राष्ट्रिय लिग सुरू भए यता नै दर्शक कम छन् । यतिसम्मकी 'ए' डिभिजनका लिगका हेभिवेट टिमको खेल हेर्नसमेत दर्शकको चासो देखिएको छैन । हरेक खेलमा स्ट्यान्डहरू प्रायः खाली देखिन्छन् । तर विगतका राष्ट्रिय लिग हेर्ने हो भने यस्तो निराशाजनक स्थिति थिएन ।
फुटबलमा किन कम हुँदै गए त दर्शक ? लिग फुटबलको रिक्तताबीच खेलाडी पलायन, स्टार खेलाडीको अभाव र मैदानबाहिरको राजनीतिले दर्शक र फुटबलबीचको दुरी बढाइरहेको छ । खेलाडीको रोजगारी, विकास र निरन्तरताको आधार नै अनिश्चित बन्दा फुटबलको लोकप्रियता घटेको खेलाडी र प्रशिक्षकको अनुभव छ । त्यसमा पनि टिकट मूल्य महंगो हुँदा घरेलु फुटबलले दर्शक आकर्षित गर्न नसकेको उनीहरूको बुझाइ छ ।
चौतर्फी दबाबका कारण एन्फा राष्ट्रिय लिग आयोजना गर्न बाध्य हुँदा लिग फुटबल फर्किएको छ । तर प्रचार-प्रसार, व्यावसायिक योजना र दीर्घकालीन दृष्टिकोण बिना फर्किएको फुटबलप्रति भने दर्शकको नजर पर्न सकेको छैन । लिग फुटबलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको थियो । तर, दर्शक उपस्थिति हेर्दा क्लबहरूले गरेको लगानी फिर्ता हुनेमा नै प्रश्न उठ्न थालेको छ ।
फुटबल, संसारका आधाभन्दा बढी मानिसले हेर्ने खेल मानिन्छ । तर नेपालमा भने दर्शकहरू टाढिँदै जानु फुटबलका लागि राम्रो संकेत होइन । त्यसकारण दर्शकलाई रंगशालासम्म फर्काउन आवस्यक रणनीति र योजनामा सम्बन्धित सबैले समयमै ध्यान दिनु आवस्यक छ ।