महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्यान्डसँग पराजित

माघ ४, २०८२ |खेल ब्युरो
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । आयोजक नेपालले हारसहित आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको सुरूवात गरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । यससंगै समग्रमा नेपालविरूद्ध थाइल्यान्डले ८औं जित हासिल गर्यो । टी-२० आईमा नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । टीयू क्रिकेट मैदनमा थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि सुरुआतमा ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

आक्रामक सुरूवात गरेको नेपालले अन्त्यसम्म त्यसलाई निरन्तर दिन नसक्दा सामान्य योगफलमा समेटिनु पर्यो । विन्दु रावल र सम्झना खड्काले राम्रो सुरूवात गर्दै पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । सम्झनाले ११ बलमा ६ चौका सहित २६ रनको आक्रामक इनिङ्स खेलिन् । 

उनको विकेटपछि ओरालो लागेको नेपालको रन गतिमाथि उठ्न सकेन । विन्दुले ५६ बलमा ६ चौकासहित सर्वाधिक ४४ रको योगदान दिइन् । टी-२० आईमा उनको यो व्यक्तिगत उच्च स्कोर हो । पुजा महतोसँग इनिङ बिल्ड गर्ने प्रयासमा रहेकी विन्दुलाई चनिदा सुथिराङले चौधौं ओभरको तेस्रो बलमा बोल्ड गरिन् । 

पुजा १२ र कप्तान इन्दु बर्मा ६ रनमा बाहिरिँदा कविता कुँवर २ रनमा रन आउट भइन् । रूबिना क्षेत्रीले १० बलमा २ छक्का र १ चौकाको मद्दतमा १७ रन जोड्दै रनकाे गति बढाउने प्रयास गरिन् । तर थिपात्चा पुथा-वङवको बलमा स्टम्पिङ भएपछि रुविनाको इनिङ्स थप अघि बढ्न सकेन । कविता जोशी ३ रनमा बाहिरिँदा सिता राना मगरले खाता खोल्न सकिनन् । रिया शर्मा ४ रनमा आउट भइन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन खर्च गर्दै ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारं-गरतना, सुलिपर्न लाओमी र चनिदा सुथि-राङले १-१ विकेट हात पारे । जवाफमा थाइल्यान्डले १ सय २३ रनको सामान्य लक्ष्य १६ ओभर ५ बलमा केवल ३ विकेट गुमाएर पुरा गर्यो । 

उसका लागि अपिसरा सुवान्चो-रथी र नाथकन चन्थमले ६६ रनको ओपनीङ साझेदारी गरे । अपिसरा २८ रनमा सिता राना मगरको सिकार बनिन् । नान्नापत कोन्चारो-एनकाई ३२ रनमा बाहिरिन् । चन्थमले ३९ बलमा ९ चौका र १ छक्कासहित अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेलिन् । नेपालका लागि दुबै विकेट सिताले हात पारिन् । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार नेदरल्यान्डको सामना गर्ने छ ।