‘विश्वकप ग्लोबल क्वालिफायर्स नेपाली महिला क्रिकेटका लागि टर्निङ पोइन्ट’

माघ ३, २०८२ |खेल ब्युरो
‘विश्वकप ग्लोबल क्वालिफायर्स नेपाली महिला क्रिकेटका लागि टर्निङ पोइन्ट’

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर्स नेपाली महिला क्रिकेटका लागि टर्निङ पोइन्ट भएको बताएकी छन् ।

प्रतियोगिताअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान इन्दुले १८ वर्ष लामो मेहनतपछि प्राप्त अवसरलाई सदुपयोग गर्न टिम तयार रहेको प्रतिक्रिया दिइन् । यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता भएको उल्लेख गर्दै उनले यस्तो प्रतियोगिताले आउने पुस्तालाई पनि प्लाटर्फम सेट गर्न मद्दत पुग्ने उल्लेख गरिन् ।

कप्तान इन्दुले घरेलु मैदानमा खेल्न उत्साहित रहेको बताउँदै अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उल्लेख गरिन् । यस्तै अन्य टिमका कप्तानले पनि राम्रो तयारी भएको र अभ्यास खेलमा कन्डिसन बुझ्ने अवसर पाएको भन्दै विश्वकपका लागी छनोट हुने विश्वास व्यक्त गरे ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिता आइतबारबाट सुरू हुँदैछ । प्रतियोगिता अन्तर्गत समूह 'ए'मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगीनी , नामिबिया र अमेरिका छन् । यस्तै, समूह 'बी'मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स र नेपाल छन् । दुबै समूहबाट शीर्ष ३ टोलीहरू सुपर सिक्समा पुग्नेछन् । 

सुपर सिक्सको शीर्ष ४ मा रहने टोलीहरू यसै वर्ष इग्ल्यान्डमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने छ ।