साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालकाे पहिलाे हार

माघ ३, २०८२ |खेल ब्युरो
साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालकाे पहिलाे हार

काठमाडौं । नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पहिलो हार व्यहोरेको छ। 

थाइल्यान्डमा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली टोली भारतसँग ८-१ को फराकिलो अन्तरले पराजित भएको हो। बैङककस्थित, नोथानबुरी रंगाशालामा भएको खेलमा भारतले, नेपालविरुद्ध एकपक्षीय खेल प्रस्तुत गर्यो । खेलको चौथो मिनेटमै भारतले दिती कमलेशमार्फत अग्रता बनाएको थियो। खुस्बु काशिराम सरोजले प्रहार गरेको बल नेपाली डिफेन्डर सजिना कोइरालासँग डिफ्लेक्सनमा आउँदा भारतले गोल गरेको हो। 

सोही मिनलेमा उनले दोस्रो गोलसमेत थपिन्। रितीका सिंहको पासमा दिप्तीले भारतको अग्रता दोब्बर बनाएकी हुन्। खेलको आठौं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा निश्का प्रकासले भारतको लागि तेस्रो गोल थपिन्। सोही मिनेटमा नै नेपालकी मनिषा थापा मगरले गोल गर्दै पुनरगामनको प्रयास गरिन् । तर, नेपालको त्यो लक्ष्यविरुद्ध भारत हावी भयो। खेलको १३औं मिनेटमा भारतकी दिती कमलेशले हृयाट्रिक पुरा गर्दै स्कोर ४-१ मा पुर्याइन।

त्यसपछि, दितीले आफ्नो व्यक्तिगत चौथो गोल गर्दा पहिलो हाफको अन्त्यमा भारतले नेपाललाई ५-१ ले पछाडी परिसकेको थियो। दोस्रो हाफमा पनि नेपालले कमब्याकका अवसरहरू लगातार गुमाइरह्यो। २२औं मिनेटमा भारतकी रितीका सिंहले गोल गरिन्। खुस्बुले २४औं मिनेटमा सातौं गोल थपेपछि खेलको स्कोर निकै फराकिलो बनेको हो।

खेलको ३७औं मिनेटमा रितीका सिंहले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै खेल भारतको पक्षमा ८-१ को स्कोरलाइनमा समाप्त गरेकी हुन्। यो जितसँगै भारतले तीन खेलबाट ६ अंक बनाएको छ भने समान खेलबाट नेपालको चार अंक छ। नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका सँग २-२ को बराबरी खेलेको थियो। 

दोस्रो खेलमा माल्दिभ्सविरुद्ध ५-० को जित हात पारेको नेपालले तेस्रो खेलमा आएर भारतसँग हार ब्यहोरेको हो। अब नेपालले सोमबार बंगलादेशको सामना गर्नेछ।