धनुषाधाममा एक महिने मकर मेला सुरू

माघ ४, २०८२ |अनिल मिश्र
धनुषाधाममा एक महिने मकर मेला सुरू

धनुषा । धनुषाको धनुषाधाममा एक महिने मकर मेला सुरू भएको छ । 

प्रत्येक वर्ष माघ महिनाको पहिलो आइतबारदेखि सुरू हुने मकर मेला मधेश प्रदेशको प्रख्यात मेला हो । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधामको मेलामा नेपाल तथा छिमेकी भारतीय सीमावर्ती जिल्लाका लाखौँको हजारौंको संख्यामा दर्शनार्थीको सहभागिता रहने गर्दछ । 

धनुषाधाम मन्दिरमा १२ महिना भक्तजन आउने गरेको भए पनि अन्य दिनको तुलनामा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मेलामा बढी दर्शनार्थी आउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको स्वयंवरमा अयोध्या नरेश दशरथका जेष्ठ पुत्र श्रीरामले बाण चलाउँदा तीन टुक्रा भएको थियो । 

त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन्। धनुषको टुक्रा झरेको विश्वास रहेको स्थानमा अहिले अवस्थित कालो चट्टानको आकार बढ्दै गएको र मङ्सिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्ने गर्छन् । 

 माघ महिनामा धनुषाधाम मन्दिरमा पूजा दर्शन गर्नाले विभिन्न किसिमका रोग व्याधी निको हुने जनविश्वास रहेको छ । भाकल पूरा भएमा भेन्टाको भार (पाहुर) चढाउने चलन रहेको छ । धनुषाधाम मकर मेला तेजपत्ता, धुपी, खेतीपाती र घरायसी काममा प्रयोग हुने कृषि ओेजारलगायतका आवश्यक सामग्री खरिदबिक्रीका लागि प्रख्यात छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।