
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि भएको उम्मेदवारी छनोटप्रति नेकपा (एमाले)मा असन्तुष्टि देखिएको छ ।
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै एमाले नेता योगेश भट्टराईले पार्टीमा ४ बुँदे नोट अफ डिसेन्ट दर्ता गराउनुभएको छ । यसैगरी एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउनु भएको छ । आफू दैलेख २ का लागि जिल्ला र प्रदेश कमिटीबाट पहिलो नम्बरमा सिफारिसमा परे पनि तेस्रोपटक पनि नेतृत्वको रोजाइमा पर्न नसकेको बताउनुभएको छ ।
एमालेलाई हराएर फेरि एमालेमै फर्कन बाध्य भएकाहरूले आफूमात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हाँस्यास्पद भएको उहाँको भनाइ छ । शनिबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै अधिकांश उम्मेदवार टुंगो लगाएको हो ।
एक सय ४० उम्मेदवारको नाम तय हुँदा ११औं महाधिवशेनमा इश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गर्नेले टिकट पाएका छैनन् । उपमहासचिव लेखराज भट्टका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष ओलीलाई दिइएको छ । सार्वजनिक सूचीअनुसार अध्यक्ष ओली झापा-५, बाटै यसपटक पनि चुनाव लड्नु हुनेछ ।
ताप्लेजुङको टिकट युवा संघ अध्यक्ष क्षितिज थेवेलाई दिइएको छ भने काभ्रे-२ बारे गोकुल बास्कोटासँग अध्यक्ष ओली आफैंले कुरा गर्ने बताइएको छ । काठमाडौं-५ इश्वर पोखरेलका लागि सुरक्षित गरिएको छ । अध्यक्ष ओली योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति अनुदार भएको पाइएको छ ।
यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।