
काठमाडौं । आईसीसी टी-२० विश्वकप खेल्ने जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको शनिबार बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ-क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले क्रिकेट टिमको बिदाइ गरेका हुन्। विश्वकप आगामी फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा सुरू हुने भए पनि त्यसको तीन हप्ताअघि नै अभ्यासका लागि नेपाली टिम श्रीलंका जान लागेको हो।
उतैबाट विश्वकप खेल्ने नेपाली टिम भारतको मुम्बई फर्किनेछ। श्रीलंका भ्रमणका क्रममा नेपाली टोलीले जनवरी २०, २२ र २४ मा श्रीलंका 'ए' टोलीसँग तीन खेलको अभ्यास टी-२० सिरिज खेल्नेछ । जनवरी १९, २१ र २३ तारिखमा अभ्यास सत्र तय गरिएको छ ।
श्रीलंकापछि नेपाली टोली भारत जानेछ । भारतमा मुम्बई क्रिकेट एशाेसिएशनको एमसीए प्रेसिडेन्ट-११ साग दुई टी-२० अभ्यास खेल खेल्ने तालिका छ । पहिलो खेल जनवरी २९ र दोस्रो खेल जनवरी ३१ तारिखमा हुनेछन् । दोस्रो खेल डे-नाइट हुनेछ । यसअघि जनवरी २७ र २८ मा भारतमै अभ्यास गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरूवात गर्नेछ। बिदाइको असरमा नोबेल अस्पतालका मेनेजिङ डाइरेक्टर सुनिल शर्माले क्रिकेट टिमलाई यसअघि घोषणा गरेको पुरस्कार रकम वितरण गरेका थिए।
नेपाल यदि आउँदो विश्वकपको सुपर एटमा पुग्न सके उनले २० लाख पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी टिमका कप्तान रोहित पौडेलले सरकारले पनि घोषणा गरेको पुरस्कार चाँडै दिन अनुरोध गरेका छन्।