.png&w=1000&height=550)
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सानदार सुरूवात गरेको छ ।
शनिबार सम्पन्न दिनको दोस्रो खेलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबविरूद्ध ५-० को फराकिलो जित हात पर्यो । आर्मीको जितमा निराजन धामीले २ गोल गरे भने नवयुग श्रेष्ठ, नवीन लामा र जिलेस्पीजंग कार्कीले १-१ गोलको योगदान दिए । पहिलो हाफमा २ गोल गर्दै प्रभावशाली प्रदर्शन गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
खेलको १५औं मिनेटमा नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा निराजनको गोलमार्फत आर्मीले अग्रता दोब्बर बनायो । ६७औं मिनेटमा नवयुगलले टिमका लागि तेस्रो गोल थपे । निराजनले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गाल गर्दै ब्रेस पुरा गरे । इन्जुरी समयको दोस्रो मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गरेपछि आर्मीले ५-० को सानदार जित पक्का गर्यो ।
जितसंगै आर्मीले ३ अंक जोडेको छ । मनाङ मर्स्याङ्दी भने हारसहित प्रतियोगिताको सुरूवात गर्न बाध्य भयो । मनाङ मर्स्याङ्दीले आफ्नो दोस्रो खेलमा सोमबार मछिन्द्र फुटबल क्लबको सामना गर्ने छ भने आर्मीले मंगलबार प्लानिङ ब्वाईजसँग प्रतिस्पर्धा गर्नेछ ।