
काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर आएको चित्लाङ एफसीले एन्फा राष्ट्रिय लिगमा विजयी सुरूआत गरेको छ।
सादोबाटोको एन्फा कम्प्लेक्समा भएको शनिबारको पहिलो खेलमा चित्लाङ एफसीले नव जनजागृति युवा क्लबलाई २-१ ले हराएको हो। खेलको तेस्रो मिनेटमा जन जागृतिका उदित नारायण चौधरीले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार पहिलो बारको नजिकैबाट बाहिरिएको थियो।
छैटौं मिनेटमा विक्रम थोकरको प्रहार पनि पोस्टको नजिकैबाट बाहिरियो। खेलको २८औँ मिनेटमा विंगर मदन स्याङ्तानको सुन्दर क्रस दोस्रो बारमा लागेर मैदानतर्फ फर्किएको थियो। गोलकिपर अगाडि बढिसकेको अवस्थामा माथ्थिउ बाबातुन्डेले पोस्ट अगाडिबाट शक्तिशाली प्रहारमार्फत गोल गरेर चित्लाङलाई अग्रता दिलाएका हुन्।
खेलको ३४औं मिनेटमा बाबातुन्डेको पासलाई अगाडि रहेका फरवार्डले नभेटेपछि चित्लाङ अग्रता दोब्बर बनाउने अवसरबाट चुक्यो। त्यसको २ मिनेटपछि जागृतिले बराबरी गोल फर्काएको हो। उदित नारायणले सुन्दर गोल गर्दै खेलको पहिलो हाफ १-१ को बराबरी बनाएका हुन्। सुरूवातमा जागृतिले दबाब बनाएको भए पनि त्यसपछि चित्लाङ पुनरागमनको प्रयास गरेको हो।
यसैगरी खेलको दोस्रो हाफमा चित्लाङले फेरी अग्रता बनायो। ६४औं मिनेटमा सोलोमन आइलेसानमीले गोल गरेर खेललाई २-१ मा पुर्याएका थिए। खेलको अन्तिममा दुबै टिमले स्कोरमा राम्रा प्रयास गरे पनि स्कोरमा परिवर्तन भएन र चित्लाङ पहिलो तीन अंक जोड्न सफल भएको हो । जन जागृतिले भने हारसँगै प्रतियोगिताको सुरूआत गरेको छ।