
काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप नेपाली क्रिकेट टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुईवटा अभ्यास सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ-क्यानले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार श्रीलंका 'ए' टोली र मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट-११ सँग अभ्यास सिरिज तय भएको हो । नेपालमै प्रारम्भिक प्रशिक्षण सम्पन्न गरेपछि टोली श्रीलंका प्रस्थान गर्नेछ । श्रीलंका भ्रमणका क्रममा नेपाली टोलीले जनवरी २०, २२ र २४ मा श्रीलंका 'ए' टोलीसँग तीन खेलको अभ्यास टी-२० सिरिज खेल्नेछ । जनवरी १९, २१ र २३ तारिखमा अभ्यास सत्र तय गरिएको छ ।
श्रीलंकापछि नेपाली टोली भारत जानेछ । भारतमा मुम्बई क्रिकेट एसोशिएसनको एमसीए प्रेसिडेन्ट-११ सँग दुई टी-२० अभ्यास खेल खेल्ने तालिका छ । पहिलो खेल जनवरी २९ र दोस्रो खेल जनवरी ३१ तारिखमा हुनेछन् । दोस्रो खेल डे-नाइट हुनेछ । यसअघि जनवरी २७ र २८ मा भारतमै अभ्यास गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरुवात गर्नेछ ।