स्कटल्यान्डसँगको वार्म अप खेलमा नेपाली महिला क्रिकेट टिम २७ रनले पराजित

१ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ५६ मा अलआउट
सम्झनाको अर्धशतक
पुस २५, २०८२ |खेल ब्युरो
स्कटल्यान्डसँगको वार्म अप खेलमा नेपाली महिला क्रिकेट टिम २७ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघि स्कटल्यान्डसागको वार्म अप खेलमा नेपाली महिला क्रिकेट टिम २७ रनले पराजित भएको छ। 

टीयू क्रिकेट रंगशालामा भएको खेलमा एक सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ५६ रनमा समेटिएपछि नेपाल पराजित भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड महिला टिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो। 

ओपनर द्वय डार्सी कार्टर र पिपा स्प्रोउलले समान २१-२१ रनको योगदान गरे। उनीहरूले ३० रनको साझेदारी गरेका थिए। तेस्रो नम्बरकी क्याथरन ब्रेसीले भने ब्याट खोलेर खेल्न सकिन्। उनले २८ बलमा नै १२ चौका र एक छक्काको मद्दतमा ६२ रनको विस्फोटक पारी खेलेकी थिइन्।

मध्यक्रममा लगातार विकेट गुमाएको स्कटल्यान्डका लागि पछिल्लो क्रमकी पियानाज चटेरजीले अविजित ४० रनको योगदान गरिन्। उनले पाँच चौका र एक छक्का प्रहार गरेकी थिइन्। यससँगै स्कटल्यान्डले निकै बलिया लक्ष्य खडा गरेको हो। नेपाली कप्तान इन्दु बर्माले ठूलो स्कोरबाट जोगिन ८ बलर प्रयोग गरेको भए पनि रुबिना क्षेत्रीले मात्रै किफायति बलिङ गर्न सकिन्। 

उनले २ ओभरमा एक मेडन राख्दै ८ रन खर्चिएर दुई विकेट हात पारिन्। कविता कुँवरले पनि ३ ओभरमा २९ रन खर्चिएर दुई विकेट आफ्नो नाममा गरेकी थिइन्। जवाफमा नेपालले ११ रन बनाउँदा नै पहिलो विकेट गुमायो। विन्दु रावल पाँच रनमा आउट भइन्। काजल श्रेष्ठ पाँच र पुजा महतो २ रनमा नै बाहिरिएका थिए। तर सम्झना खड्काले टिकेर खेल्दै अर्धशतक प्रहार गरिन्। 

कप्तान इन्दु बर्माले २८ रन जोड्दै सम्झनासँग ३८ रनको साझेदारी गरेकी थिइन्। सम्झनासँग कविता ३५ रनको साझेदारी गरेकी कविता जोशीले पनि २२ रन बनाउन सकिन्। कविता कुँवरले अविजित २९ रन बनाएकी थिइन्। स्कटल्यान्डकी डार्सीले पााचौ खेलाडीका रूपमा बलिङ गरेर तीन विकेट लिएकी थिइन्। उनले पुजा, कविता र रुबिनाको महत्वपूर्ण तीन विकेट लिएकी थिइन्।