
काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले पनि नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरूवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्- राखेपको कभर्डहलमा बुधबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपीएफ क्लबलाई ३ सेटमा हराउँदै पुलिसले विजयी सुरूवात गरेको हो । हालै सम्पन्न एनभीए च्याम्पियनसिपको उपविजेता भएको पुलिसले खेल पहिलो सेट २५-२२ दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारमा दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । जितसँगै पुलिसले ३ अंक जोडेको छ । एपीएफ पहिलो पटक निरुता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिएको थियो । चार टोली सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, दोस्रो हुने टिमले २ लाख ५० हजार , तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ तथा विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।