
काठमाडौं । नेपाल एपीएफ फुटबल क्लब साफ महिला क्लब च्याम्पियनसिपको उपविजेतामा सीमित भएको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा भारतको इस्ट बंगाल एफसीले एपीएफलाई ३-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो । अपराजित रूपमा च्याम्पियन बनेको इस्ट बंगालले यस खेलमा पनि क्लिन सिट राख्दा प्रतियोगिताभर कुनै गोल बेहोरेन ।
लिग चरणमा इस्ट बंगाललाई गोलरहित बराबरीमा रोकेको एपीएफले शनिबार भने रक्षापंक्तिमा धेरै त्रुटि गर्यो । राष्ट्रिय टिम जस्तै एपीएफ पनि फाइनलमा पराजित हुँदा नेपाली महिला फुटबलले लामो समयदेखिको उपाधिको खडेरी अन्त्य गर्न सकेको छैन । इस्ट बंगालले २२औं मिनेटमा अग्रता लिएको थियो ।
गोलकिपर अन्जना राना मगर र गीता रानाबीच तालमेल हुन नसक्दा कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन् । उनको प्रहार गीतालाई लाग्दै गोलमा परिणत भएको थियो । इस्ट बंगालले ३५औं मिनेटमा अग्रता दोब्बर बनायो । सरिताको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्की देवीले हेडरमार्फत गोल गरिन् । पहिलो हाफभरि एपीएफले खासै आक्रमण गर्न सकेन ।
इन्जुरी समयमा अनिता बस्नेतको क्रममा मिना देउवाको हेडर पोष्ट नजिकबाट बाहिरिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै फजिलाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलकिपर अन्जनालाई सहजै बचाउने मौका भए पनि नियन्त्रणमा लिइसकेको बल फुत्काउन पुग्दा एपीएफले तेस्रो गोल बेहोर्यो ।
त्यसपछि पनि इस्ट बंगालले आक्रमणलाई निरन्तरता दिएको थियो । तीन गोल बेहोरेसँगै एपीएफ निकै दबाबमा परेको थियो । अन्ततः इस्ट बंगालले ३-० को स्कोरलाइन मेन्टेन गर्दै पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्यो । यससँगै इस्ट बंगालले १० हजार डलर हात पारेको छ भने एपीएफले ५ हजार डलरमा चित्त बुझायो ।