काठमाडौं । चार वर्षमा साइबर अपराधका घटनामा तीन सय प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा बढी स्क्यामिङ, फिसिङ, ह्याकिङजस्ता अनलाइन ठगी र विद्युतीय अपराध भएको नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांक छ । पछिल्लो पाँच महिनामै साइबर अपराधका २४ सयभन्दा बढी उजुरी दर्ता भएका छन् । तर, साइबर अपराधका उजुरी बर्सेनि अत्यधिक बढ्दै गए पनि नेपालमा न यससम्बन्धी आवश्यक जनशक्ति छ, न कानुन नै । विज्ञहरूले नागरिकस्तरमा सचेतना बढाउन विद्यालय तहदेखि नै साइबर अपराधको विषय पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका छन् ।
अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरूपयोग गरी ह्वाट्स एप र भाइबरमार्फत पैसा माग्ने काम भइरहेको भन्दै सजग रहन शनिबार आग्रह गर्नुभयो । उहाँले सचेतनाका लागि राख्नुभएको स्क्रीनसट अनुसार केकीका नाममा विभिन्न बहाना बनाएर सञ्जाल पैसा मागिएको छ ।
२९ वर्षीया एक महिला पनि हालै चिनियाँ भाषामा नाम लेखिएको फेसबुक पेजबाट नेपालीमा गरिने लाइभको फन्दामा पर्नुभयो । लाइभ लक्की ड्र गेम भनेर खेलाउने उक्त पेजले विभिन्न प्याकेज कार्ड खरिद गर्दा लाखौं कमाउन सकिने प्रलोभनमा पर्दा उहाँ ९० हजारभन्दा बढी ठगीमा पर्नुभयो ।
राजधानीकै एक कलेजमा अध्ययनरत १९ वर्षीय युवालाई पनि केही समयअघि जाम जाम इलेक्ट्रोनिक्स नामक फेसबुक पेजमार्फत मेसेज आयो- तपाईंलाई आइफोन फोर्टिन प्रोम्याक्स उपहार पर्यो । कर तिर्न अग्रिम ८ हजार जम्मा गर्नुहोला ।' त्यसपछि पनि सामान त्रिभुवन विमानस्थलमा आएको र भन्सारमा अड्किएकाले छुटाउन पुन २७ हजार तिर्न भनियो । सुजितले पनि आईफोन पाउने लोभमा पैसा जम्मा गर्नुभयो । तर त्यसपछि पेजबाट मेसेज आउन बन्द भएपछि उहाँले आफू ठगिएको चाल पाउनुभयो ।
पछिल्ला तीन वर्षमा स्क्यामिङ, फिसिङ, ह्याकिङजस्ता अनलाइन ठगी र विद्युतीय अपराधमा तीन सय प्रतिशतसम्म वृद्धि भएको नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकले जनाएको छ । आर्थिक वर्ष २०७८-८९ मा साइबर अपराधसम्बन्धी कसुरका ४ हजार ६ सय ८६ निवेदन काठमाडौंमा मात्रै दर्ता भएका थिए ।
यो संख्या बढेर आर्थिक वर्ष २०७९-८० मा ९ हजार १३ भयो भने २०८०-८१ मा त झन् ह्वात्तै बढेर १९ हजार ७ सय ३० पुगेको पाइन्छ । २०८१-८२ मा भने १८ हजार ९ सय २६ वटा उजुरी परेका थिए । चालु आवको ५ महिनामै साइबर अपराधका २४ सयभन्दा बढी उजुरी ब्युरोमा आएको तथ्याङ्क छ । साइबर ब्युरोका प्रवक्ता दिपकराज अवस्थी संगठित रूपमै साइबर अपराधका गतिविधि भइरहेको बताउनुहुन्छ ।
आमनागरिकदेखि बौद्धिक वर्गसम्म अनलाइन ठगीको शिकार बनिरहेको उहाँको भनाइ छ । साइबर अपराधका घटना अत्यधिक बढे पनि अनुसन्धान र अभियोजन गर्ने निकाय भने स्रोतसम्पन्न बन्न सकिरहेका छैनन् । साइबर अपराधलाई समेटने कानुन पनि बन्न नसक्दा अनुसन्धान र अभियोजनमा समस्या देखिएको ब्युरोका प्रवक्ता अवस्थी बताउनुहुन्छ ।
प्रविधि सबैका हात-हातमा पुगे पनि साइबर अपराधबारे नागरिकमा सचेतना छैन । यसका लागि पाठ्यक्रमममै प्रविधि र यससँग सम्बन्धित विषय समावेश गर्नुपर्ने र साइबर अपराधको अनुसन्धान गर्ने निकायमा लगानी बढाउनुपर्ने साइबर सुरक्षा विज्ञहरूको भनाइ छ ।
साइबर अपराधको सञ्जाल सीमाविहीन हुने भएकाले पनि नियन्त्रण र नियमन कठिन बनेको छ । विद्युतीय कारोबार ऐन २०६३ भए पनि पछिल्ला समय बढिरहेका साइबर अपराधलाई समेट्न सकेको छैन । छिमेकी देश भारत र चीनको साइबर अपराधको ट्रान्जीटका रूपमा नेपाल प्रयोग हुने जोखीम बढेको पनि जानकारहरूको भनाइ छ । तर सरकारले साइबर अपराध नियन्त्रणलाई केन्द्रमा राखेर लगानी गर्न र जनशक्ति बढाउन दुबै गर्न चासो देखाएको छैन ।