आईसीसी पुरुष टी-२० विश्वकपका लागि १५ सदस्यीय भारतीय टाेलीकाे घोषणा

पुस ५, २०८२ |खेल ब्युरो
आईसीसी पुरुष टी-२० विश्वकपका लागि १५ सदस्यीय भारतीय टाेलीकाे घोषणा

काठमाडौं । भारतले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ र त्यसअघिको न्युजिल्यान्डविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । 

टोलीमा ईशान किशन र रिंकु सिंह पुनः समावेश हुँदा शुभमन गिल र जितेश शर्मा भने बाहिरिएका छन् । सूर्यकुमार यादवले टोलीको नेतृत्व गर्नेछन् भने अक्षर पटेललाई उपकप्तान नियुक्त भएको छ । यसअघि इंग्ल्यान्डविरुद्धको टी-२० सिरिजसम्म उपकप्तान रहेका अक्षर पटेललाई एसिया कपदेखि शुभमन गिलले प्रतिस्थापन गरेका थिए । 

गिलले अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध पनि उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । तर, अहिले अक्षर पुनः उपकप्तानको भूमिकामा फर्किएका छन् । गिलले दक्षिण अफ्रिकाविरुद्धको घरेलु सिरिजका अन्तिम दुई टी-२० खेल चोटका कारण गुमाएका थिए ।

ईशान किशनले सैयद मुश्ताक अली ट्रफीमा सानदार प्रदर्शन गरेपछि टिममा पुनरागमन गरेका हुान् । कप्तानको रूपमा झारखण्डलाई उपाधि जिताउँदा उनले १० इनिङ्समा ५ सय १७ रन बनाएका थिए । ब्याटिङ विभागमा अभिषेक शर्मा, सूर्यकुमार यादव, सन्जु स्यामसन, तिलक वर्मा, रिंकु सिंह र ईशान किशनसहित आक्रामक संयोजन देखिन्छ । 

अलराउन्डरको रूपमा हार्दिक पाण्ड्या अक्षर पटेल, शिवम् दुबे र वासिङ्टन सुन्दर टोलीमा छन् । बलिङ आक्रमणमा जसप्रीत बुमराह, अर्शदीप सिंह र हषिर्त राणा रहेका छन् । स्पिन विभागमा वरुण चक्रवर्ती र कुलदीप यादव समावेश छन् । भारतले विश्वकपको तयारीका क्रममा न्युजिल्यान्डसँग ३ एकदिवसीय र ५ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । 

टी-२० सिरिज जनवरी २१ देखि ३१ सम्म हुनेछ भने जनवरी ११-१८ बीच हुने एकदिवसीय सिरिजको टोली पछि घोषणा गरिने बीसीसीआईले जनाएको छ । भारत टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत हो ।