सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँन लगभग दुई महिना मात्र बाँकी छ ।
प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको कर्णाली प्रदेशले मिति नजिकिँदै गर्दा खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसमेतमा कुनै तयारी गरेको देखिँदैन । प्रतियोगितामा सहभागी हुने खेलाडी र दर्शकका लागि आवास व्यवस्थापन समेतमा प्रदेश सरकारले चासो दिएको छैन । कर्णाली खेलकुद परिषद्का पदाधिकारी नियुक्ति प्रक्रिया थाले पनि टुंगो लागेको छैन ।
संघीय सरकारले फागुन १ देखि ७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने मिति तोकेको छ । यसअघि तीनपटक मिति तोकिए पनि रोकिएको थियो । यसअघि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखिसकेको, सातै प्रदेशका खेलाडीहरू तयारीमा जुटिसकेको र खेल पूर्वाधारसमेत अन्तिम अवस्थामा रहेकै बेला प्रतियोगिता स्थगन गरिएको थियो ।
राष्ट्रिय खेलकुदको मिति नजिकिएसँगै खेलाडीहरू आन्तरिक तयारी बढाए पनि कर्णाली प्रदेश सरकारले सुरू गरेको कर्णाली खेलकुद परिषद् गठन प्रक्रिया टुंगो लगाउन सकेको छैन । प्रतियोगिताको पूर्वनिर्धारित समय आउन दुई महिनामात्र बाँकी रहँदा प्रदेश रंगशालाको काम ९७ प्रतिशत सकिएको छ । ३६ विधामा हुने खेलकुद प्रतियोगितामा २४ वटा खेल कर्णाली प्रदेशमा गर्न सकिने छ । केही प्रतियोगिता अन्य जिल्लामा गर्न सकिने प्रशिक्षकहरू बताउँछन् ।
प्रतियोगिता तयारीका लागि संघीय सरकारले छुट्याएको ५४ करोड बजेट सातै प्रदेश र विभागीय टोलीलाई अझै पठाएको छैन । प्रतियोगिता अवधिभर दर्शक र खेलाडीका लागि प्रदेश राजधानी र जिल्ला सदरमुकामबाहेकका क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने छ । तर सरकारले व्यवस्थापन पक्षका लागि स्थानीय निजी क्षेत्रसँग समन्वय गर्न सकेको छैन ।
यसैबीच खेलकुद परिषद्मा अबिलम्व पदाधिकारी नियुक्त गरी प्रतियोगितालाई निर्धारित समयमा सम्पन्न गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ । संघीय सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सातै प्रदेशमा बजेट निकासा दिएपछि खेलुकुदका गतिविधि बढ्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले खेलकुदका लागि जिल्लामा रहेका पूर्वाधारको मर्मत कार्य सुरुसमेत गरिसकेको मन्त्रालयले जनाएको छ । प्रतियोगिताका लागि प्रदेशको टिम पनि छनाेट भएको छैन । रंगशालामा फुटबल मैदान, स्विमिङ पुल, भलिबल, हृयाण्डबललगायतका खेलहरू गर्न सकिने छ । हरेक दुई-दुई वर्षको अन्तरालमा हुनेगरी २०३८ सालदेखि सुरू भएको प्रतियोगिता २०८२ सम्म आइपुग्दा नौवटा संस्करण मात्र पूरा भएका छन् ।