काभ्रेमा जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता सुरू, चार सय खेलाडी प्रतिस्पर्धामा

पुस ५, २०८२ |पुजन धिताल
काभ्रेमा जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता सुरू, चार सय खेलाडी प्रतिस्पर्धामा

काभ्रे । काभ्रेपलाञ्चोकमा जिल्लाव्यापी प्रथम तेक्वान्दो खेल प्रतियोगिता शनिबारबाट सुरू भएको छ। 

पनौती नगरपालिका वडा नं. १, २ र ३ को संयुक्त आयोजना तथा कुशादेवी तेक्वान्दो डोजाङ्गको सह-आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ४, ५ र ६ गतेसम्म पनौती नगरपालिका-२ स्थित कुशादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा चल्नेछ।काभ्रेका विभिन्न तेक्वान्दो डोजो तथा विद्यालयमा आबद्ध खेलाडीहरूबीच तेक्वान्दोका २० विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ। 

प्रतियोगितामा करिब चार सय खेलाडी सहभागी भएका छन्। सहभागी खेलाडीहरूबाट कुनै पनि दर्ता शुल्क नलाग्ने तथा उनीहरूको खाना र बसोबासको सम्पूर्ण व्यवस्था आयोजकले नै मिलाएको जनाइएको छ। प्रतियोगिता सम्पन्न गर्न पुरस्कारबाहेक करिब १० लाख रूपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

काभ्रेपलाञ्चोकमा पहिलोपटक जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको हो। स्थानीय तहको पहल र तेक्वान्दो डोजाङ्गको सहकार्यमा सुरू भएको प्रतियोगितामा जिल्लाभरका खेलाडीहरू सहभागी छन्। तीन दिनसम्म चल्ने प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्ने आयोजकको विश्वास छ।

प्रतियोगिताको शनिबार उद्घाटन गर्दै पनौती नगरपालिका प्रमुख गीता बञ्जाराले यस्ता खेलकुद प्रतियोगिता सञ्चालन गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतियोगिता सफल बनाउन खटिने सम्पूर्णलाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले खेलाडीको व्यक्तित्व विकास गर्नुका साथै खेलप्रतिको मोह र आकर्षणसमेत बढाउने आशा व्यक्त गर्नुभयो।

सोही उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती तेक्वान्दो संघका अध्यक्ष रोशन पुरीले काभ्रेपलाञ्चोकका १७ वटै वडामा तेक्वान्दो डोजो सञ्चालनमा रहेको उल्लेख गर्नुभयो। स्थानीय तह र जनप्रतिनिधिको सक्रियताका कारण यस्ता प्रतियोगिता आयोजना सम्भव भएको भन्दै उहाँले आयोजक तथा जनप्रतिनिधिको प्रशंसा गर्नुभयो।

आयोजकका अनुसार प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने लक्ष्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकले बताएका छन्।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।