
काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सवा ११ बजे हुने खेलमा लिभपुर र टोटेनहम हट्सपरबीच हेभिवेट भिडन्त हुँदैछ।
आर्न स्लटको टोलीले अहिले लयमा फर्किएको संकेत दिएको छ। त्यसैले मध्य टेबलका यी दुई टोली शनिबार राति जित निकालेर अंकतालिकाको शीर्षस्थानतिर पुनरागमनको योजनामा हुनेछन्। थोमस फ्रांकको नेतृत्वमा रहेको टोटेनहम सुधारको संकेतमा देखाए पनि फेरी संकटमा फसेको छ।
न्यू क्यासल युनाइटेडसँगको प्रभावशाली कमब्याक बराबरी तथा ब्रेन्टफोर्ड र स्लाभिया प्रागविरूद्ध घरेलु मैदानमा जितपछि आत्मविश्वासमा देखिएको टोटेनहम सिटी ग्राउन्डमा नटिङ्घम फरेस्टसँग ३-० ले पराजित भएको थियो। प्रिमियर लिग तालिकाको मध्यतिर रहेको टोटेनहम चौथो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडी छ।
यसले प्रशिक्षक फ्रांकको भविष्यबारे चर्चा बढाएको भए पनि हाल बोर्डको समर्थन उनकै पक्षमा छ। यद्यपि, यस साता हार व्यहोरे टोटेनहमले सन् २०२५ मा एउटै क्यालेन्डर वर्षमा सबैभन्दा धेरै ११ पटक घरेलु पराजय-को खराब कीर्तिमान बनाउनेछ।लिभरपुल भने पछिल्ला दुई साताको मैदान बाहिरका घटनाक्रमपछि ब्राइटनविरुद्ध २-० को जितसँगै पुनः लयमा फर्किएको छ।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद सलाहले ह्युगो एकिटिकेको गोलमा असिस्ट गरेका थिए। त्यसपछ उनले प्रिमियर लिगमा सर्वाधिक गोल योगदान २ सय ७७ को नयाँ कीर्तिमान बनाएका छन्। हाल अफ्रिका कप अफ नेसन्सका लागि इजिप्ट टोलीमा आबद्ध सलाहको अनुपस्थितिमा पनि लिभरपुलले पछिल्ला पाँच खेलमा हार बेहोरेको छैन।
सातौँ स्थानको लिभरपुल यस साता नतिजा अनुकूल आए शीर्ष चारमा उक्लिन सक्ने अवस्थामा छ। च्याम्पियन्स लिगमा इन्टर मिलानविरूद्धको १-० जितले प्रशिक्षक आर्ने स्लटको टोलीको आत्मविश्वास बढाएको छ। टोटेनहमविरूद्धका पछिल्ला दुई भेटमा लिभरपुलले समग्रमा ९-१ को सानदार जित निकालेको छ।
टोटेनहमका पापे सार र इभ्स बिस्सुमा अफ्रिका कप अफ नेसन्समा व्यस्त छन्। साथै, डोमिनिक सोलांके, डेजान कुलुसेभ्स्की, डेस्टिनी उडोजी र जेम्स म्याडिसन अझै चोटकै कारण बाहिर छन्। लिभरपुलतर्फ डोमिनिक सोबोस्लाई चोटबाट म्या-फिट भइसकेका छैनन्।
जो गोमेज मांसपेशी चोटका कारण अनुपस्थित छन्। यद्यपि, कोनर ब्राड्ली निलम्बनबाट फर्किएका छन् भने जेरिमी फ्रिम्पोङ दुई महिनापछि टोलीमा समावेश भएका छन्। तपाईले कान्तिपुर म्याक्समा लिगका खेलहरुको प्रत्यक्ष प्रसारण हेर्न सक्नु हुनेछ।