सिरियामा इस्लामिक स्टेटविरूद्ध अमेरिकी आक्रमण, जवाफी कारबाही गरेको ट्रम्पको दाबी

मध्य सिरियाका ७० भन्दा बढी इलाका निशानामा
पुस ५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
सिरियामा इस्लामिक स्टेटविरूद्ध अमेरिकी आक्रमण, जवाफी कारबाही गरेको ट्रम्पको दाबी

काठमाडौं । सिरियामा रहेको इस्लामिक स्टेट-आइएस समूहविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको छ । 

आफ्ना सैनिकमाथि घातक आक्रमण गरिएपछि जवाफी कारबाही गरिएको दाबी अमेरिकाको छ । गत १३ डिसेम्बरमा आइएसआइएसले पाल्मिरा सहरमा थापेको एम्बुसमा परेर दुई अमेरिकी सैनिक र एक दोभाषेको मृत्यु भएको थियो । लगत्तै, अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आइएआइएसका गढहरूमा आक्रमण गर्ने बताउनुभएको थियो ।

शुक्रबार राति लडाकु विमान र हेलिकोप्टरसमेत प्रयोग गरेर मध्य सिरियाका ७० भन्दा बढी इलाकामा आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ । युरोप, अफ्रिका र इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकी सैन्य अभियानको निर्देशन गर्ने अमेरिकी केन्द्रीय कमाण्ड-सेन्ट्रकमले आक्रमणको योजना तथा कार्यान्वयन गरेको हो । कारबाहीमा जोर्डनका विमानहरूले पनि अमेरिकालाई साथ दिएका थिए ।

आइएसका पूर्वाधार तथा हतियार भण्डारण स्थलहरूलाई निशानामा बनाइएको सेन्ट्रकमले जनाएको छ । सेन्ट्रकमका कमान्डर एडमिरल ब्राड कुपरले अमेरिकी नागरिक र साझेदारलाई क्षति पुर्‍याउन खोज्नेहरूलाई नछाड्ने बताउनुभएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिकामाथिको आक्रमणको बदला लिएरै छाड्ने बताउनुभएको छ ।

ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले हत्यामा संलग्नमाथि अमेरिकाले प्रतिशोधात्मक कारबाही गरिरहेको बताउनुभएको छ । उहाँले यस आक्रमणमा सिरियाली सरकारको पूर्ण समर्थन रहेको पनि दाबी गर्नुभएको छ । आइएसले यस आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । 

संयुक्त राष्ट्रसंघका अनुसार सिरिया र इराकमा आइएसका झन्डै ५ हजारदेखि ७ हजार लडाकू अहिले पनि सक्रिय छन् । आइएससँग लड्न बनेको अन्तर्राष्ट्रिय गठबन्धनमा सिरियाले भर्खरै सहभागिता जनाएको छ र अमेरिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।