काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जेन-जी अगुवाहरू सक्रिय राजनीतिमा होमिन थालेका छन् ।
आफ्नै दल नखोले पनि निर्वाचनमा भाग लिन उनीहरू पुराना राजनीतिक दलबाहेकका शक्तिसँग सहकार्य गर्ने तयारीमा छन् । केही भने निर्वाचनमा जाने-नजाने अलमलमा छन् । तर सरकारसँग भएको सम्झौता कार्यान्वयन गराउन पनि निर्वाचनमा आफैँ जानुपर्ने धारणा उनीहरूको छ ।
फागुन २१ गते हुने निर्वाचनमा भाग लिन राजनीतिक दलहरूसँगै जेन-जीहरू पनि सक्रिय हुन थालेका छन् । आन्दोलनपछि अग्रपंत्तिमा रहेका केही जेन-जी अगुवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका शक्तिहरूसँग आबद्ध भएका छन् भने केही विचार मिल्ने शक्तिको खोजीमा छन् ।
विषेशगरी रवि लामिछाने नेतृत्वको रास्वपा, मन्त्री कुलमान घिसिङको अगुवाइमा खोलिएको उज्यालो नेपाल र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको साथ उनीहरूले खोजेका छन् । उनीहरु एकै ठाउँमा उभिएर बलियो वैकल्पिक शक्ति बन्ने र पुराना शक्तिहरुलाई हराउने रणनीतिमा छन् । तीन शक्ति एकै ठाउँमा आउने सम्भावना रहेको दाबी पनि उनीहरु निकटका नेता-कार्यकर्ताले गरिरहेका छन् । तर निर्णयको पर्खाइमा जेन-जी अगुवाहरू छन् ।
जेन-जी अभियन्ता पुरूषोत्तम यादव रास्वपामा आबद्ध भइसक्नुभएको छ । समानुपातिकको प्रारम्भिक सूचीमा राखिएका उहाँलाई रास्वपाले सिरहाबाट उम्मेदवार बनाएको छ । अन्य भने पर्ख र हेरको अवस्थामा छन् । जेन-जी अभियन्ता प्रदीप ज्ञवाली गुल्मी १ बाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । यो क्षेत्र एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीको निर्वाचन क्षेत्र हो ।
जेन-जी अगुवा सुधन गुरूङले पनि गोरखाबाट चुनाव लड्ने बताउनुभएको छ । उहाँ निर्वाचन लड्न लागेको गोरखा १ नेपाली कांग्रेसका राजेन्द्र बजगाईंको निर्वाचन क्षेत्र हो । उहाँ पनि सबै वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुहुन्छ । आन्दोलनपछि फ्रन्टलाइनमा बसेर काम गरिरहेका अन्य जेन-जी युवा पनि चुनावको तयारीमा जुटेका छन ।
जेन-जी फ्रन्टकी रक्षा बमले निर्वाचनमा जाने तयारी गरेको बताए पनि कहाँबाट भन्ने स्पष्ट भइसकेको छैन । यतिस ओझा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट उठ्ने तयारी गर्दै हुनुहुन्छ । उहाँ अन्य शक्तिहरूसँग पनि छलफलमा हुनुहुन्छ । अर्का जेन-जी अगुवा उपार्जुन चाम्लिङ पनि सुनसरी अथवा खोटाङबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।
यसबाहेक मनिष खनाल, बिनिता बोगटीलगायतले पनि निर्वाचनको तयारी गरिरहेका छन् । तर धैरैजसो कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने अलमल छन् भने सहयोग गर्नेशक्तिको समेत खोजीमा देखिएका छन । खासगरी राजनीतिमा नयाँपन, मुलुकमा सुशासनका साथै जवाफदेहिता खोजिरहेका जेन-जी युवाहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन गराउनका लागि पनि आफैँ निर्वाचनमा होमिन चाहिरहेका छन् । तर यसका लागि उनीहरू वैकल्पिक शक्तिहरूको साथ खोजिरहेका छन् ।