सरकार विदेशी शक्तिले बनाइदिने र ढालिदिने अवस्थामा पुगेको छ : हर्क साम्पाङ

पुस ५, २०८२ |अमृता अनमोल
सरकार विदेशी शक्तिले बनाइदिने र ढालिदिने अवस्थामा पुगेको छ : हर्क साम्पाङ

बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले नेपालको सरकार विदेशी शक्तिले बनाइदिने र ढालिदिने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

शनिबार बुटवलमा आयोजित पार्टीको आम सभालाई सम्बोधन गर्दै उहाँले साना-ठूला विकास आयोजनाका लागि समेत विदेशबाट ऋण माग्नुपर्ने अवस्थाले देशको स्वाधिनता कमजोर बन्दै गएको दाबी गर्नुभयो । उहाँले अब स्वाधिनता बचाउन स्वदेश सुहाउँदो विकास र योजना बनाउन आवश्यक रहेको समेत बताउनुभयो ।

साम्पाङले सडक, पुल, खानेपानी जस्ता आधारभूत संरचना निर्माणका लागि पनि विदेशी ऋणमा निर्भर हुनुपर्दा नेपाल माग्नेहरूको देशको रूपमा चिनिन थालेको बताउनुभयो । गफ र ऋणको भरमा देश नबन्ने स्पष्ट पार्दै साम्पाङले श्रमलाई राष्ट्रिय विकासको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

साम्पाङले विदेशबाट ऋण लिएर देश नबन्ने बताउँदै हप्तामा एक दिन देशको लागि श्रम गर्न आग्रह गर्नुभयो । ६ दिन आफ्नो लागि गरौँ, एक दिनमात्रै देशको लागि काम गरे देशको विकास हुन्छ,’ उहाँले भन्नुभयो । साम्पाङले चीन, जापान, कोरिया श्रमबाट नै धनी बनेको बताउँदै सबैले काम गर्नु पर्ने संस्कृतिको विकास गर्नु पर्ने बताउनुभयो । 

जनप्रतिनिधिहरू जनताप्रति समर्पित हुनुपर्ने बताउँदै आफूले चुनाव जितेर पाँच वर्षमा एक रूपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए देश छाडेर शरणार्थी हुने साम्पाङले बताउनुभयो ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।