पहिलो संस्करणको साफ क्लब महिला च्याम्पियनसिपको उपाधि हात पार्ने एपीएफको लक्ष्य

भारतको इस्ट बंगाल क्लब पनि च्याम्पियन बन्ने दाउमा
पुस ४, २०८२ |खेल ब्युरो
पहिलो संस्करणको साफ क्लब महिला च्याम्पियनसिपको उपाधि हात पार्ने एपीएफको लक्ष्य

काठमाडौं । एपीएफकी कप्तान अनिता बस्नेतले साफ क्लब महिला च्याम्पियनसिपको उपधि क्लबका लागि मात्र नभएर देशकै लागि महत्वपुर्ण भएको बताएकी छन् । 

फाइनल अघि शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा कप्तान अनिताले टिमका युवा खेलाडीको ब्याबसायिक करियरका लागि पनि यो प्रतियोगिता ठुलो प्ल्याटर्फम भएको उल्लेख गरिन् । एपीएफले उपाधीका लागि शनिबार भारतको इस्ट बंगालसँग प्रतिस्पधा गर्दैछ ।

एपीएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले लिग चरणमा देखिएका कमजोरीहरू सुधार्दै अट्याक्टिङ खेल खेल्ने उल्लेख गरे । आफ्नो टिम शारीरिक तथा मानसिक दुबै दृष्टिले पूर्ण रूपमा तयार रहेको बताए । कप्तान अनिता बस्नेतले नेपाली महिला फुटबलका लागि यो खेल निकै महत्वपूर्ण रहेकाले उपाधि जित्न पूर्ण क्षमतासहित प्रतिस्पर्धा गर्ने बताइन् ।

त्यस्तै, इस्ट बंगालकी कप्तान फजिला इक्वापुतले पाहुना टोलीको रूपमा खेल्दा स्वाभाविक रूपमा दबाब हुने भए पनि टोली पूर्णरूपमा फाइनलमा केन्द्रित रहेको प्रतिक्रिया दिएकी छन् । मुख्य प्रशिक्षक एन्थोनी एन्ड्रयूजले लिग चरणमा कुनै गोल नबेहोरेका दुई टोलीबीचको उपाधि भिडन्त प्रतिस्पर्धात्मक हुने बताए ।

इस्ट बंगाल लिग चरणमा शीर्ष टोलीको रूपमा फाइनलमा पुगेको थियो । उसले चार खेलमा तीन जित र एक बराबरीसहित १० अंक जोडेको थियो । एपीएफले चार खेल मध्य दुई जित र दुई बराबरीसहित ८ अंक जोडेर फाइनलमा स्थान बनाएको थियो । लिग चरणमा दुबै टिमले गोल रहित बराबरी खेल्दै अंक बाढेका थिए । साथै दुबै टिमले प्रतियोगितामा अहिले सम्म कुनै गोल बेहोरेका छैनन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ ५ बजे सुरू हुनेछ ।