
काठमाडौै । नेपाली धावक रामसुन्दर कार्की ललितपुरदेखि भारत उत्तरप्रदेशको अयोधास्थित राम मन्दिरसम्म दौड्ने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने छन् । करिब ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । आफ्नो रुट अवलोकन गर्न कार्की पूर्व खेलाडी गोकुल खत्रीसंगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन् ।
गोदावरी नगरपालिका वडा १, गोदाम-चौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने छन् । उनी त्यहीँका बासिन्दा समेत हुन् । हनुमान मन्दिर पनि कार्की आफैँले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पित्तलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी दिए ।
कार्कीले यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए । त्यस्तै उनी काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमानासम्म दौडेका थिए । कार्की २०६४ सालमा १ सय १ दिन लगाएर नेपालका तत्कालीन ७५ जिल्ला नै दौडेर पुगेका थिए ।