राष्ट्रिय खेलकुद परिषद्को तयारी सुस्त, खेलाडी र प्रशिक्षक अलमलमा

राष्ट्रिय खेलकुद परिषद्ले औपचारिक पत्र नपठाउँदा बागमतीमा खेलकुद छनोट प्रभावित
पुस ४, २०८२ |बालकृष्ण अधिकारी
राष्ट्रिय खेलकुद परिषद्को तयारी सुस्त, खेलाडी र प्रशिक्षक अलमलमा

हेटौंडा । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुस्त छ। 

प्रतियोगिता सुरू हुने निर्धारित मिति दुई महिना पनि बाँकी छैन् । राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म छनाेट प्रतियोगिता सञ्चालन गर्न प्रदेश खेलकुद विकास परिषद् बागमतीलाई औपचारिक पत्रसमेत पठाएको छैन । बागमती प्रदेशमा १०औँ खेलकुद प्रतियोगिताको छनाेट प्रतियोगिता सञ्चालन गर्न पूर्वाधारको अभाव छैन । तर प्रतियोगिता निर्धारित समयमा हुन्छ हुँदैन भन्ने अन्याेलताले खेलाडी र प्रशिक्षक अलमलमा छन् । 

१०औँ राष्ट्रिय खेलकुदमा सहभागी हुन प्रदेश स्तरीय छनाेट चरण पार गर्नुपर्ने भएकाले खेलाडी नियमित अभ्यासरत छन् । तर प्रदेश खेलकुद परिषद्ले छनाेट प्रतियोगिताको मिति नै तय गर्न सकेको छैन् । छनाेटका लागि प्रतियोगिताको मिति तय गर्न सके खेलाडीलाई मानसिकरूपमा तयार पार्न सकिने प्रशिक्षकको दाबी छ ।

प्रदेश खेलकुद परिषद् बागमतीले छनाेट प्रतियोगिता सञ्चालन गर्न दुई करोड ६२ लाख बजेट छुट्याएको छ । छनाेट प्रतियोगिताबाट छानिएका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न, प्रतियोगितामा सगभागी गराउन, ड्रेस व्यवस्थापन गर्नेलगायतका लागि अपुग हुने पाँच करोड बजेट समेत आर्थिक मामिला तथा योजना मन्त्रालयसँग माग भइसकेको छ । तर राखेपले औपचारिक पत्र नपठाएसम्म प्रतियोगिता सञ्चालन गर्न भने कठिनाइ भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को तयारी सुस्त हुँदा प्रदेशमा छनाेट प्रतियोगिता नै प्रभावित बनेको छ । 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।