आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

पुस २, २०८२ |सुवास रोकाया
आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को तयारीकै क्रममा मंगलबार अबूधाबीमा मिनी अक्सन सम्पन्न भयो । 

जहाँ १० टिमले १ सय ५६ खेलाडीका लागि बोली लगाउँदै कुल २ सय १५ दशमलव ४५ करोड भारतीय रूपैयाँ खर्चेर ७७ खेलाडी अनुबन्धित गरे । अक्सनमा चर्चित खेलाडीमाथि क्लबले प्रशस्त पैसा खर्च गर्नु स्वाभाविक नै हो । तर, आधारमूल्य निकै न्यून राखिएका युवा र अनक्याप्ड खेलाडी ठूलो मूल्यमा अनुबन्धित भएर सबैलाई आश्चर्यचकित पारे । 

२० वर्षीय प्रशान्त वीर, १९ वर्षीय कार्तिक शर्मा र २९ वर्षीय आकिब नबी डारले आफ्नो क्षमता, प्रतिभा र घरेलु प्रदर्शनका आधारमा ठूलो मूल्य पाए ।

पहिलो पटक अक्सनमा सामेल भएका अमेठीका २० वर्षीय प्रशान्त वीरलाई धेरैले अनसोल्ड हुने अनुमान गरेका थिए । किनभने लिलामीको छैटौं सेटका अधिकांश खेलाडी अनसोल्ड फर्किइसकेका थिए । तर जब लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सले ३० लाखको बेस प्राइसबाट बोली सुरू गरे, त्यहाँबाट चेन्नई सुपर किंग्स पनि प्रतिस्पर्धामा सामेल भयो । 

बोली क्रमशः चार करोडसम्म पुगेपछि मुम्बई बाहिरियो । यसपछि राजस्थान रोयल्स र चेन्नईको युद्धले प्रशान्तको मूल्य १४ करोड २० लाख भारतीय रूपैयाँसम्म पुग्यो । प्रशान्त वीरले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । 

उनले युपी टी-२० लिगमा १० खेलमा ३ सय २० रन बनाउनुका साथै ८ विकेट लिएका छन् । यू-२३ टूर्नामेन्टमा उनले युपी टिमलाई फाइनलसम्म पुर्याउने क्रममा ३ सय ७६ रन बनाउनुका साथै १८ विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए । हाते स्पिनर प्रशान्तलाई चेन्नईले रविन्द्र जडेजाको प्रतिस्थापनको रूपमा टिममा सामेल गरेको हो । गत सिजन निकै संघर्ष गरेको चेन्नाइबाट प्रशान्तको प्रर्दशन कस्तो होला हेर्न रोचक हुनेछ ।

१९ वर्षीय विकेटकिपर क्याटर कार्तिक शर्मा लामो छक्का प्रहार गर्न माहिर छन् । तल्लो क्रममा विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमताका कारण उनी राजस्थानको सिक्स हिटिंग मसीन'का रूपमा समेत परिचित छन् । इंग्ल्यान्डका केभिन पीटरसन र भारतीय स्पिनर रविचन्द्रन अश्विनले पनि उनको क्षमताको प्रशंसा गरिसकेका छन् । 

३० लाखको बेस प्राइसबाट मुम्बईले बोली सुरू गरेपछि लखनऊ, कोलकाता र चेन्नई पनि प्रतिस्पर्धामा सामेल भए । बोली १४ दशमलव २० करोडमा पुगेपछि चेन्नईले उनलाई आफ्नो पक्षमा पर्यो । मुसताक अली ट्रफीमा उनले राजस्थानलाई ७ मध्ये ६ खेल जिताउँदै नकआउट चरणमा स्थान बनाउन महत्वपूर्ण योगदान दिएका थिए । यस क्रममा उनले ५ खेलमा ११ छक्कासहित १ सय ३३ रन बनाएका थिए । उनले हालसम्म १२ टी-२० खेलमा ३ सय ३४ रन बनाउँदा २८ छक्का प्रहार गरेका छन् ।

बललाई दुबै दिशामा स्विङ्ग गराउन माहिर जम्मू-कश्मीरका फास्ट बलर आकिब नबी डार पावरप्लेदेखि डेथ ओभरसम्म विपक्षीलाई दबाबमा राख्ने क्षमता राख्छन् । ३० लाखको बेस प्राइसमा उनका लागि दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा चलेको थियो । 

बेंगलोर र हैदरावादले पनी उनलाई टिममा सामेल गर्ने प्रयास गरेका थिए । तर अन्त्यमा दिल्लीले उनलाई ८ करोड ४० लाखमा आफ्नो टिमको हिस्सा बनायो । मुश्ताक अली ट्रफीमा उनले ७ खेलमा १५ विकेट लिएका छन् । रणजी ट्रफीको आधा सिजनसम्म उनी दोस्रो सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले ५ इनिङ्समा २९ विकेट लिएका छन् । जहाँ उनले ३ पटक फाइफ विकेट हलसमेत पुरा गरेका छन् ।

मध्य प्रदेशका लेफ्ट आर्म पेसर मंगेश यादव बललाई दुबै दिशामा स्विंग गराउन र सटिक योर्कर फ्याल्न सक्षम छन् । उनी पावरप्लेदेखि डेथ ओभरसम्म प्रभावशाली प्रदर्शन गर्न सक्छन् र आवश्यक पर्दा ब्याटिङममा पनि गर्न सक्छन् । 

अक्शनको अन्तिम राउन्डमा ३० लाखको बेस प्राइसमा उनको बोलीलाग्दा आरसीबी र एस आरएचबीच प्रतिस्पर्धा चलेको थियो । अन्तत: आरसीबीले उनलाई ५ दशमलव २० करोडमा मंगेशलाई आफ्नो टोलीमा सामेल गर्यो । सैयद मुश्ताक अली ट्रफीमा उनले दुई खेल खेलेका छन्, जहाँ उनले २८ रन बनाउँदा तीन विकेट लिएका छन् । मध्य प्रदेश टी-२० लिगमा ६ खेलमा उनले १६ विकेट लिएका थिए।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।