एमालेको अधिकांश पदाधिकारीमा ओली पक्षकै वर्चस्व

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको अधिकांश पदाधिकारीमा ओली पक्षकै वर्चस्व

काठमाडौै ।  एमालेको अधिकांश पदाधिकारीमा समेत ओली पक्षकै वर्चस्व कायम भएको छ । अध्यक्षमा पराजित ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा दुईजनाले मात्रै जितेका छन् । सचिवमा त झन् एकलौटी नै भएको छ । माओवादी पृष्ठभुमिबाट आएका नेताहरुलाई एमाले प्रतिनिधिले लोकप्रिय मत दिँदा ओलीकै विश्वासपात्र गुरु बराल र विष्णु रिमाल भने पराजित भएका छन् ।

एमालेका पाँच उपाध्यक्ष मध्ये ईश्वर पोखरेल समूहबाट जितेको गोकर्ण विष्ट मात्रै हो । बाँकी चार मध्ये सबैभन्दा लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल र रघुजी पन्त विजयी हुनुभएको छ । गुरुङ जेनजी आन्दोलनअघि सञ्चारमन्त्री तथा एमालेका निवर्तमान उपमहासचिव र गण्डकीका पूर्वमुख्यमन्त्री भैसक्नुभएको छ ।

यसैगरी विष्णु पौडेल यसअघि पनि उपाध्यक्ष हुनुहुन्थ्यो । यसअघि एमालेको सरकार छँदा उहाँ उपप्रधान तथा अर्थमन्त्री र एमाले तथा माओवादी मिलेर नेकपा बन्दा पार्टी महासचिव हुनुहुन्थ्यो ।

तेश्रो लोकप्रिय मतसहित उपाध्यक्ष निर्वाचित रामबहादुर थापाले माओवादी पृष्ठभूमिमा नेकपामा सामेल हुँदै एमालेमा यसअघि नै उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसअघि सर्वाधिक मध्ये धेरै मत ल्याएर दुई कार्यकाल सचिव रहेका गोकर्ण विष्ट ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । भद्र र विकासप्रेमी नेताका रूपमा चिनिने विष्ट २०६८ सालमा ऊर्जामन्त्री हुँदा विद्युत महसुल नतिर्नेहरुको लाइन काटेर चर्चित बन्नुभएको थियो ।

रघु जी पन्त दुबै समूहको उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । यसअघि पार्टीको पदाधिकारी नभै पन्तले ११ औं महाधिवेशनबाट उपाध्यक्षमा बाजी मार्नुभएको छ । महासचिवका आकांक्षी प्रदिप ज्ञवालीले उपाध्यक्ष अस्वीकार गर्दा पन्तको बाटो सहज भएको हो ।

एमाले अध्यक्षपछि सबैभन्दा शक्तिशाली र कार्यकारी पद महासचिवमा भने ओलीकै विश्वासपात्र शंकर पोखरेल निर्वाचित हुनुभएको छ । पोखरेल यसअघि पनि महासचिव हुनुहुन्थ्यो । २०६५ सचिवमा निर्वाचित पोखरेल २०७१ सालको नवौँ महाधिवेशनमा भने उपमहासचिवमा पराजित हुनुभएको थियो ।

तीन उपमहासचिव मध्ये दुई जना ओली पक्षबाट र योगेश भट्टराई ईश्वर पोखरेल समूहबाट निर्वाचित हुनुभएको छ ।

माओवादी पृष्ठभूमिबाट एमालेमा आएका लेखराज भट्टले लोकप्रिय मतसहित जित हासिल गरेर पार्टीभित्र सर्वस्वीकार्य’ भएको सन्देश दिनुभएको छ ।

अर्का उपमहासचिवमा मधेश प्रदेशमा बलियो पकट भएका नेता रघुविर महासेठ निर्वाचित हुनुभएको छ । यसअघि सचिव रहेका महासेठ एमालेका १९ पदाधिकारी मध्ये एक मात्र मधेशी मुलका नेता हुनुहुन्छ।

पार्टी रुपान्तरण र आन्तरिक लोकतन्त्रको आवाज उठाउँदै अध्यक्ष ओलीको खरो आलोचना गर्दै आउनुभएका योगेश भट्टराई पनि उपमहासचिव निर्वाचित हुनुभयो । २०५१ सालमा अनेरास्ववियूको अध्यक्ष रहेका भट्टराई यसअघि पार्टीको सचिव हुनुहुन्थ्यो ।

एमालेका ९ जना सचिव भने सबै ओली समूहबाट विजयी भएका छन् । सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतलाई प्राप्त भएको छ । ११ महाधिवेशनबाट एमालेको पदाधिकारीमा एक जना मात्रै महिलाका रुपमा पद्माकुमारी अर्यालले चुनाव जित्दा छविलाल विश्वकर्मा पनि दलित समुदायको प्रतिनिधित्व गर्दै सचिव बन्नुभयो । शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी प्रदेश सरकारमा पूर्वमुख्यमन्त्री भैसकेका नेताहरु हुन् । कर्णालीले पहिलो पटक पार्टी पदाधिकारीका रुपमा यामलाल कंडेल सचिव निर्वाचित हुनुभएको छ । उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । अध्यक्ष ओलीका रोजाइका पात्र राजन भट्टराई र भानुभक्त ढकाल पनि सचिवमा विजयी हुनुभएको छ ।

ओली र पोखरेल समूह प्यानल नै बनाएर चुनावमा उत्रँदा एमालेको ११ महाधिवेशनले लोकतान्त्रिक परिपाटीलाई भने अंगिकार गर्यो । तर अध्यक्षदेखि अधिकांश पदाधिकारीमा ६० वर्ष माथिकै नेताहरुको वर्चश्व देखिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.