फिफा विश्वकप : महँगो टिकटको आलोचनापछि करिब ८ हजारको ‘सपोर्टर इन्ट्री टियर’ सार्वजनिक

असन्तुष्टि कायमै
पुस २, २०८२ |खेल ब्युरो
फिफा विश्वकप : महँगो टिकटको आलोचनापछि करिब ८ हजारको ‘सपोर्टर इन्ट्री टियर’ सार्वजनिक

काठमाडौं । फिफा विश्वकप-२०२६ को अत्यधिक महंगो टिकट मूल्यलाई लिएर विश्वभरबाट चर्को आलोचना भएपछि फिफाले करिब ८ हजार नेपाली रूपैयाँ मूल्यको नयाँ सपोर्टर इन्ट्री टियर टिकट सार्वजनिक गरेको छ ।

अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ विश्वकपका टिकट मूल्य इतिहासकै सबैभन्दा महंगा रहेका छन् । फाइनल हुने न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सबैभन्दा सस्तो सिटको मूल्य नै करिब ५ लाख ३० हजार रूपैयाँ छ । समूह चरणका केही खेलका टिकट करिब १६ हजारदेखि ३५ हजार रूपैयाँ तोकिएको छ ।

यस मूल्यवृद्धिको व्यापक आलोचना भएपछि फिफाले नयाँ इन्ट्री टियरअन्तर्गत १ सय ४ वटै खेलका लागि करिब एक हजार टिकट मात्र करिब ८ हजार रूपैयाँमा उपलब्ध गराउने जनाएको छ । फाइनल खेल पनि यसमै समावेश गरिएको छ ।

यी सस्तो टिकट विश्वकपमा सहभागी राष्ट्रका समर्थकले मात्र किन्न पाउनेछन् । टिकट वितरण सम्बन्धित सदस्य संघहरूले गर्नेछन् । जसले आफ्नै मापदण्ड र आवेदन प्रक्रिया तय गर्नेछन् । फिफाले यो व्यवस्था आफ्नो राष्ट्रिय टिमसँग नजिकबाट जोडिएका निष्ठावान समर्थकका लागि भएको बताएको छ ।

२०२६ विश्वकपका लागि दुई करोडभन्दा बढी टिकट माग परेकाले समर्थकको सपना सस्तो र सहज बनाउने फिफाको दाबी छ । तर बाँकी सबै टिकटको मूल्य भने यथावत् राखिएको छ । आठ वर्षअघि विश्वकप आयोजना अधिकार माग्दा सह-आयोजक देशहरूले करिब टिकट २८ सय रुपैयाँसम्म बेच्ने प्रतिबद्धता जनाएका थिए ।

यसैबीच फुटबल सपोर्टर्स युरोपले फिफाको कदमलाई सन्तुष्ट पार्ने रणनीति मात्र भन्दै आलोचना जारी राखेको छ । यो निर्णय हतारमा, पर्याप्त परामर्श बिना गरिएको र यसले केही सय समर्थकबाहेक अधिकांशलाई अझै असह्य मूल्य तिर्न बाध्य बनाउने समर्थकहरुको भनाइ छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने यस आलोचनाबारे अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।