यमल र एम्बाप्पेलाई पछि पार्दै डेम्बेलेले जिते पुरूषतर्फको फिफा वर्ष खेलाडीको अवार्ड

महिलातर्फको सर्वोत्कृष्ट खेलाडीको अवार्ड आइताना बोनमाटीलाई
पुस २, २०८२ |खेल ब्युरो
यमल र एम्बाप्पेलाई पछि पार्दै डेम्बेलेले जिते पुरूषतर्फको फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौं । ओउसमान डेम्बेलेले पुरूषतर्फको फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्। 

उनले बार्सिलोनका लमिन यमल र रियल मड्रिडका केलियन एम्बाप्पेलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्। महिलातर्फको सर्वोत्कृष्ट खेलाडीको अवार्ड आइताना बोनमाटीले जितेकी छन्। गत सेप्टेम्बरमा बालोन दो अवार्डसमेत जितेका २८ वर्षे डेम्बेलेले यो वर्ष कतारमा आयोजना भएको अवार्ड समारोहमा पुरूषतर्फको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्। 

त्यसैगरी, गत सिजनमा उनले पीएसजीलाई चार उपाधि दिलाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। बार्सिलोना र बोरूसिया डर्टमन्डका पूर्व खेलाडीले गत दुई सिजनबाट पीएसजीमा अनुबन्ध छन्। त्यसयता लुइस एनरिकेको टिमबाट उनले ५३ खेलमा ५१ गोल गरिसकेका छन्। 

उनले उत्कृष्ट प्रदर्शन गरेको सिजनमा पीएसजीले च्याम्पियन्स लिग पनि जितेको थियो। त्यसैगरी, महिलातर्फको उत्कृष्ट खेलाडीको अवार्ड भने बार्सिलोनाकी बोनमाटीले लगातार तेस्रो पटक जितेकी छन्। उनी स्पेनिस टिमको महत्वपूर्ण खेलाडी हुन्। 

इंग्ल्यान्डमा भएको यूरो कपमा पनि उनी उत्कृष्ट खेलाडी बनेकी थिइन्। उनले बार्सिलोनाबाट पनि घरेलु ट्रिबल जितेकी थिइन्। पछिल्लो सिजनमा उनले १२ गोल गरिन् भने ६ एसिस्ट गरिन्। तर उनको क्लब च्याम्पियन्स लिगको फाइनलमा मात्रै पुगेको थियो। तर उनी त्यहाँ पनि सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन्। 

उनले ११ खेलमा नौ गोल गरेकी थिइन्। उनले प्रशिक्षक, टिममेट र समर्थकको सहयोगले मात्रै अवार्ड जित्न सफल भएको हो।