वैदेशिक रोजगार गएका पासवानको निधनले परिवार शोकमा

पछिल्लो १५ वर्षमा १५ हजारभन्दा धेरै श्रमिकको विदेशमा मृत्यु
पुस ३, २०८२ |सुमन पन्थ
वैदेशिक रोजगार गएका पासवानको निधनले परिवार शोकमा

काठमाडौै । मलेसियाबाट घर फर्किने तयारीमा रहेका सप्तरीका २७ वर्षिय दिपेन्द्र पासवानको १० दिनअघि उतै निधन भएपछि अहिले परिवार शोकमा छ । श्रम स्वीकृति र विमा दुवैको म्याद सकिएका कारण अन्तिम संस्कारसमेत कसरी गर्ने भन्ने तनावमा परिवार छन् ।

पासवानको के कारणले मृत्यु भएको हो अझै एकिन छैन । वैदेशिक रोजगारीमा दैनिक ३ देखि ४ श्रमिककोे मृत्यु र दुई जनाको अंगभंग हुन गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । पछिल्लो १५ वर्षमा १५ हजारभन्दा धेरै श्रमिकको विदेशमा मृत्यु भइरहेको छ । विदेशमा सामान्य बाटो काट्न नजान्दा, विदेशी वातावरणमा घुलमिल हुन नसक्दा मृत्यु र अंगभंग हुने गरेको छ । तर, जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन सरकारले सकेको छैन । भैपरि आउने समस्यामात्र होइन खाडी र मलेसियामा नेपाली श्रमिक आर्थिक र सामाजिक रुपमा शोषणमा परे पनि त्यसको समाधान गर्न सरकार चुकिरहेको छ । ती देशसँग उच्चस्तरको श्रम सम्झौता हुन नसक्दा समस्या भएको विज्ञको भनाइ छ ।

यता सरकारले भने सुरक्षित आप्रवासनका लािग धेरै नेपाली भएका देशमा श्रम सहचारी राख्नेदेखि अधिकार रक्षासम्मका लागिपरेको दाबी गरेको छ । वैदेशिक रोजगारीमा जानपूर्व श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउनेदेखि कल्याणकारी कोषमा सहभागी गराउने गरेको सरकारको भनाइ छ ।

वैदेशिक रोजगारीमा मात्र होइन स्वदेशकै रोजगारीमा पनि श्रमिकको अवस्था उस्तै खराब छ । धेरै प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छैनन् । व्यवसायजन्य सुरक्षा पनि उत्तिकै दयनीय रहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनर्एकीकरणका कार्यक्रम प्रभावकारी रुपमा संचालन नै गर्न सकेको छैन । सुधार गर्नुपर्ने धेरै ठाउँ भए पनि सरकारी कार्यक्रम सुस्त र प्रभावीहीन छन् ।

आन्तरिक रोजगारीका अवसर संकुचन हुँदै गइरहेको अवस्थामा वैदेशिक रोजगारीसँग देशका करिब ६० प्रतिशत परिवार प्रत्यक्ष-अप्रत्यक्ष जोडिएका छन् । मासिक २ खर्बसम्मको योगदान रेमिट्यान्सको छ । तर अर्थतन्त्रमा यति ठूलो योगदान गरिरहेकेा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नेतर्फ राज्यको ध्यानै पुग्न सकिरहेको छैन ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।