अर्को वर्ष हुने विश्वकपमा कर्नर किकसम्बन्धी निर्णयमा भिडियो सहायक रेफ्री-भारको प्रयोग गर्नुपर्ने फिफाको प्रस्ताव

जनवरीमा हुने बोर्डको अर्को बैठकमा थप छलफल हुने
मंसिर १७, २०८२ |खेल ब्युरो
अर्को वर्ष हुने विश्वकपमा कर्नर किकसम्बन्धी निर्णयमा भिडियो सहायक रेफ्री-भारको प्रयोग गर्नुपर्ने फिफाको प्रस्ताव

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय-फिफाले अर्को वर्ष हुने विश्वकपमा कर्नर किकसम्बन्धी निर्णयमा पनि भिडियो सहायक रेफ्री-भारको प्रयोग गर्नुपर्ने प्रस्ताव ल्याएको छ। 

घरेलु लिगहरूले फुटबलको यस्तो विस्तारलाई अस्वीकार गरे पनि फिफा आफ्नो प्रतियोगितामा परीक्षणका रूपमा लागू गर्ने तयारीमा देखिएको हो। गत अक्टोबरमा भएको अन्तर्राष्ट्रिय बोर्डको बैठकले खेलका नियमसम्बन्धी केही बुँदामा सहमति जनाएको थियो। 

त्यसैगरी दोस्रो पहेंलो कार्ड गलत परेका कारण हुने रातो कार्डलाई पनि भारमार्फत समीक्षा गर्न सकिने निर्णय भएको छ। तर कर्नर किक समीक्षा गर्ने फिफाको प्रस्ताव भने यसपटकलाई अस्वीकृत भएको बताइएको छ। त्यसैले फिफाको आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा आफ्नै परीक्षण मोडेलमार्फत कर्नर किक भार जाँच लागू गर्ने योजना बनाइरहेको छ। 

अब जनवरीमा हुने अर्को बोर्डको बैठकमा यस विषयमा थप छलफल हुनेछ। फिफाले यसअघि पनि आफ्ना प्रतियोगितामा विभिन्न प्राविधिक परीक्षणहरू प्रयोग गर्दै आएको छ। सेमी-अटोमेटेड अफसाइड टेक्नोलोजी र भारका निर्णय स्टेडियममा दर्शकलाई घोषणा गर्ने प्रणाली त्यस्ता उदाहरण हुन्। 

अब कर्नर किकसम्बन्धी विवादास्पद वा स्पष्ट रूपमा गलत देखिने निर्णयलाई पनि भारबाट छिटो समीक्षा गर्ने तयारी भइरहेको छ। फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले यस बदलाबलाई आवश्यक मान्दै आएका छन्।