
सुनसरी । विद्यालय स्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व फुटबल महासंघ-फिफाको विश्वव्यापी कार्यक्रम ‘फुटबल फर स्कुल्स’ सुनसरी सुरू भएको छ ।
अखिल नेपाल फुटबल संघ-एन्फाको सहयोगमा शुक्रबारदेखि सुनसरीका १३ वटा विद्यालयमा यो कार्यक्रम सुरू भएको हो । कोशी प्रदेश फुटबल सङ्घ र सुनसरी जिल्ला फुटबल संघको आयोजनमा धरानस्थित एन्फा एकेडेमी रङ्गशालामा कार्यकमको अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङले उद्घाटन गरेका छन् ।
फिफा र युनेस्कोको सहयोगमा सञ्चालित कार्यक्रमले विश्वभरका ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिका माझ फुटबल पुर्याउने लक्ष्य फिफाले लिएको छ । यो कार्यक्रम नेपालको ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा लागू हुने एन्फाका अध्यक्ष नेम्वाङले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत कुल ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिने उनले बताए । सुनसरीमा विभिन्न स्थानीय तहका १३ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउनुका साथै विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रूपमा सक्षम बनाउने नेम्वाङले बताए ।