
काठमाडौं । एन्फा राष्ट्रिय लिगमा प्लानिङ ब्वाईज युनाइटेडले छौटौं जित हात पारेको छ ।
शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाईजले चित्लाङ फुटबल क्लबलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा चित्लाङले प्रतियोगितामा दोस्रो जित हात पार्न सकेन । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको २२औँ मिनेटमा सोलोमन अडेयिन्का इलेसान्मीले गोल गर्दै चित्लाङकालाई सुरवाती अग्रता दिलाएका थिए । तर, २९औF मिनेटमा प्लानिङ ब्वाईजका पापा इबु केबेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
३३औँ मिनेटमा एलेक्स विलानेले गोल गर्दै प्लानिङ ब्वाईजलाई अग्रता दिलाए भने त्यसको तीन मिनेटपछि निङ्मा घिसिङले टिमका लागि तेस्रो गोल थपे । चित्लाङका सोलोमनले ३९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ सकिँदा प्लानिङ ब्वाईज ३-२ ले अघि रह्याे ।
दोस्रो हाफमा प्लानिङ ब्वाईजले खेलमाथि पकड कायम राख्यो । ६९औँ मिनेटमा प्रताप सिंह राईले गोल थपे भने ८७औँ मिनेटमा पापा इबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै ५-२ को जित सुनिश्चित गरे । यस जितसँगै प्लानिङ ब्वाईज युनाइटेडले ११ खेलमा ६ जित सहित २२ अंक जोडेको छ । समान खेलमा मात्र १ जित हात पारेको चित्लाङको ७ अंक छ ।