
बाँके । बाँकेमा पनि व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्न थालिएको छ ।
नयाँ प्रविधि र व्यवस्थापन अपनाउँदै किसानले नगदे बालीका रूपमा स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी पनि लिन थालेका छन्। यसले स्थानीय किसानलाई कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्न प्रेरित गरिरहेको छ। बाँकेको बैजनाथ गाउँपालिका-१ का सर्पराज बस्नेत दुई वर्षदेखि व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्द आउनु भएको छ।
परम्परागत खेतीबाट अपेक्षित आम्दानी हुन नसकेपछि उहाँले स्ट्रबेरी खेती सुरू गर्नुभएको हो। करिब साढे ६ लाख रूपैयाँ लगानी गरेर झन्डै ९ हजार बिरूवा रोपिएको बगैंचाबाट पहिलो वर्षमै करिब १५ क्विन्टल स्ट्रबेरी उत्पादन भयो। उत्पादन सुरू भएको करिब साढे दुई महिनाको अवधिमै करिब ९ लाख रूपैयाँको कारोबार भएको छ।
यसवर्ष भने उत्पादन अझ बढ्ने अनुमान गरिएको छ। करिब २० क्विन्टल स्ट्रबेरी उत्पादन भई १० लाख रूपैयाँसम्म मुनाफा हुने अपेक्षा गरिएको छ। सर्पराजलाई स्ट्रबेरी खेतीमा परिवारका सबै सदस्यले साथ दिएका छन्। छ जनाको परिवार खेतीमै निर्भर छ। स्ट्रबेरी खेतीले घरखर्च र बालबच्चाको पढाइ धान्न सहयोग पुगेको उनीहरूको अनुभव छ।
बाँकेकै कोहलपुर नगरपालिका-१४ का हेमन्त थापाले गत वर्ष दुई हजार बिरूवाबाट स्ट्रबेरी खेती सुरू गर्नुभएको थियो। पहिलो वर्ष २५ हजार लगानीमा सुरू गरिएको खेतीबाट उहाँले झन्डै १ लाख ५० हजार रूपैयाँ आम्दानी गर्नुभयो। अहिले उहाँले करिब ९ हजार बिरूवा रोप्नुभएको छ।
उचित सिँचाइ, व्यवस्थापन र प्रविधि प्रयोग गरे तराईको गर्मीमा पनि स्ट्रबेरी खेचीबाट राम्रो उत्पादन लिन सकिने उहाँको अनुभव छ। बजारमा माग राम्रो हुनु र उत्पादनको सम्भावना बढ्दै जानुले बाँकेका किसान उत्साहित भएका छन्। परिश्रम, प्रविधि र व्यवस्थापन सही भए तराई क्षेत्रमै पनि उच्च मूल्यका नगदे बाली उत्पादन गरेर राम्रो आम्दानी लिन सकिने सम्भावना स्ट्रबेरी खेतीले देखाएको छ।