
काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा शनिबार पनि प्रदर्शन गरिएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएकाले फाँसीको सजाय दिने कानुन निर्माण गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन् । हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरू लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनु भयो ।
प्रदर्शनमा उत्रिएकाहरूले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।