
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा मछिन्द्र फुछबल क्लब शीर्षस्थानमा उक्लिएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई १-०ले पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा उक्लिएको हो । पहिलो हाफमा मछिन्द्रले विभागीय टोलीविरूद्ध बलियो प्रदर्शन गर्यो । ३०औंं मिनेटमा जोनाथन क्यान्टीलानाको प्रहार गोलरक्षक अमित टमाटाले विफल पारे ।
३४औं मिनेटमा अविनाश स्याङत्यानको फ्रि-किकमार्फत मछिन्द्रले अग्रता बनायो । करिब ३० यार्डको दूरीबाट प्रहार गरेको बल क्रसबारमा लाग्दै गोल हुँदा गोलरक्षक अमितले कुनै मौका पाएनन् । पहिलो हाफ १-० को अग्रतामा सकाएको प्रवेश कटुवालको टोलीले दोस्रो हाफमा थप गोल गर्न सकेन ।
दोस्रो हाफमा पुलिसले पाएको मौकाको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको हो । जितसँगै मछिन्द्रले २५ अकंका साथ तालिकामा शिर्षस्थानमा उक्लिएको छ । यता, पुलिसको भने यो पाचौं हार हो । उसले १० खेल खेल्दा दुई खेलमा मात्र जित हात पारेको छ ।
अब, मछिन्द्रले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । त्यस्तै, पुलिसले सोही दिन सातदोबाटोको सामना गर्नेछ ।