
जुम्ला । जुम्लामा पहिलोपटक लाइनमा एलपी ग्यास बाँडिएको छ ।
कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सहजै रूपमा ग्यास आपूर्ति हुँदै आएको जुम्लामा यो पटक पाँच सय सिलिन्डर ग्यास लाइनमा बाँडिएको हो । जुम्ला बसपार्कस्थित सडकमा लाइनमा बसेर उपभोक्ताहरूले ग्यास लिएका हुन् । दिउँसो १२ बजेदेखि लाइनमा ग्यास बाँडिएको थियो ।
जताततै ग्यास अभाव भइरहेकोले सिधै डिलरबाट लाइनमा वितरण गर्दा उपभोक्ता ठगिने सम्भावना कम हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । ग्यास बोकेर आएको ट्रकबाटै ग्यास वितरण भएको हो । पहिलो दिन पाँच सय सिलिन्डर बाँडिएको लगन स्टोर एन्ड सप्लायर्सका सञ्चालक पृथ्वीबहादुर शाहीले जानकारी दिनुभयाे ।
निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले आइतबार तीन सय ग्यास सिलिन्डर बाँडिने बताउनुभयाे । बुढा जनरल स्टोरले ग्यासको गाडी छुटाइसकेको छ । जुम्ला सदरमुकाम खलंगाको लागि मासिक दुई हजार सिलिन्डर आवश्यक पर्छ । डिलरमा प्रति सिलिन्डर २ हजार २ सय रूपैयाँमा वितरण भइरहेको छ । तर, आधा भरिएको ग्यासको प्रति सिलिन्डर १ हजार २ सय रूपैयाँ पर्नेछ । बिहानैदेखि ग्यास वितरण स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा शुक्रबार निमित्त प्रमुख जिल्ला अधिकारी रावलको अध्यक्षतामा बसेको बैठकले एलपी ग्यासको अभाव हुन नदिन अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने निर्णय गरेको थियो ।