काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले नेपाली टिमको लक्ष्य आगामी सेप्टेम्बर-अक्टोबरमा हुने साफ च्याम्पियनसिप रहेको बताएका छन् ।
उनले राष्ट्रिय टिममा नयाँ खेलाडीको खोजी गरिरहेको र उच्च प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको संख्या बढाउन आफू कन्द्रित रहने पनि बताएका छन् । सात सयभन्दा धेरै आवेदनबाट छानेर अखिल नेपाल फुटबल संघ- एन्फाले इटाली र स्विट्जरल्यान्डका नागरिक गुलिएल्मो एरिनालाई नेपाल फुटबल टिमको जिम्मेवारी यही मार्च १ बाट सुम्पिएको छ ।
सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो पटक सार्वजनिक रूपमा उपस्थित भएका गुलिएल्मोले आउँदो अक्टोबरमा हुने साफ च्याम्पियनसिप आफ्नो प्रशिक्षणको केन्द्रमा रहने बताए । आगामी फिफा विन्डोमा हङकङ र लाओससँग हुने खेलका लागि प्रारम्भिक टिममा ४७ खेलाडी बोलाउने तयारी गरेका उनले नयाँ खेलाडीलाई राष्ट्रिय टिममा अवसर दिने बताए ।
अब दुई खेलपछि नेपाली टिमको स्तर प्रष्ट पार्ने र साफको तयारी गर्नेसमेत उनको लक्ष्य छ । अहिले नेपालमा लगातार लिग नहुँदा धेरै खेलाडी विदेशिन बाध्य छन् । नयााँ खेलाडीले पनि पर्याप्त खेल समय पाएका छैनन् । यद्दपि अहिले भइरहेको राष्ट्रिय लिगमा देखिएका उत्कृष्ट विकल्पलाई राष्ट्रिय टिममा ल्याउने गुलिएल्मोको लक्ष्य छ । तर, उत्कृष्ट खेलाडी निर्माणका लागि उनले खेलाडीसाग राम्रो सम्झौता गर्नुपर्ने र अभ्यासमा सावधान हुने कुरामा जोड दिनुपर्ने बताए ।
गुलिएल्मोले अहिले धेरै भन्न नसकिने र नेपाली टिमको वर्तमान अवस्थाका बारेमा हङकङ र लाओससँगको मैत्रीपूर्ण खेलपछि मात्रै धेरै कुरा आउने जानकारी दिए । उनलाई एन्फाले आगामी फेब्रुअरी ३१ सम्मका लागि राष्ट्रिय टिमको जिम्मेवारी दिएको थियो । गुलिएल्मोलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न छुट दिएको एन्फा बताउँछ ।
अहिले उनीमाथि नेपाल फुटबल टिमप्रति नेपाली समर्थकको गुमेको विश्वास फकाउने चुनौती छ ।