इंग्लिस प्रिमियर लिग : आज राति आर्सनल र एभर्टन प्रतिस्पर्धा गर्दै

फाल्गुन ३०, २०८२ |खेल ब्युरो
इंग्लिस प्रिमियर लिग : आज राति आर्सनल र एभर्टन प्रतिस्पर्धा गर्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार राति लिग लिडर आर्सनलले घरेलु मैदानमा एभर्टनलाई स्वागत गर्दै छ । 

इमिरेट्स स्टेडियममा खेल नेपाली सयमअनुसार राति सवा ११ बजे सुरू हुनेछ । च्याम्पियन्स लिगअन्तर्गत बायर लेभरकुजनसँग १-१ गोलको बराबरी खेलेपछि आर्सनल लिगमा फर्किएको हो । उ प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा छ र म्यानचेस्टर सिटीभन्दा सात अंकले अघि रहेको छ ।

घरेलु मैदानमा आर्सनलको प्रदर्शन निकै प्रभावशाली देखिएको छ । म्यानचेस्टर युनाइटेडसँग पराजित भएयता आर्सनलले आफ्नो मैदानमा लगातार पाँच खेल जितेको छ । एभर्टनले पछिल्लो खेलमा बर्नलीलाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा यस सिजन एभर्टनले प्राप्त गरेको ४३ अंकमध्ये २४ अंक अवे खेलबाट जितेको छ । 

सिजनको पहिलो भेटमा भने आर्सनलले एभर्टनलाई १-० ले हराएको थियो । आर्सनलको ३० खेलमा २० जितसहित ६७ अंक जोडेको छ । २९ खेलमा ४३ अंक जोडेको एभर्टन ८औं स्थानमा छ । यस्तै लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले लन्डन स्टेडियममा वेस्ट हमसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल राति पौने २ बजे सुरू हुनेछ । च्याम्पियन्स लिगको पहिलो लेगमा रियल मड्रिडसँग ३-० ले पराजित भएपछि सिटी लिगमा पुनः जितको खोजीमा रहेको छ ।

प्रशिक्षक पेप ग्वार्डिओलाको टोली तालिकामा दोस्रो स्थानमा छ र शीर्षस्थानको आर्सनलभन्दा सात अंकले पछि छ । सिटीले प्रिमियर लिगमा वेस्ट हमविरूद्ध पछिल्ला २० खेलमा हार बेहोरेको छैन । रेलिगेसनको खतरा टार्न संघर्षरत वेस्ट हमले पछिल्ला आठ खेलबाट १४ अंक जोडेको छ ।

यसबाहेक प्रिमियर लिगमा शनिबार थप तिन खेल खेलिदैछन् । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट भइरहेको छ ।